काठमाडौं । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र एसियाली विकास बैंक (एडिबी)का कार्यकारी निर्देशक वान फरिसन बिन वान सुलेमान नेतृत्वको टोलीबीच आज पोखरामा भेटवार्ता भएको छ ।
उनीहरूबीच एडिबीको सहयोगमा सञ्चालन हुने सहरी पूर्वाधार र जीवन सुधार परियोजनासहित पोखराको दिगो पर्यटन विकासका सम्भावनाका बारेमा भेटवार्तामा छलफल भएको हो ।
एडिबीको सहयोगमा पोखराको ढल निकास, सडक, फुटपाथ र सडक सुधार परियोजनाअन्तर्गत सडक सुरक्षा उपायहरूको योजनासहित विद्यमान सडक तथा ढलको स्तरोन्नति गरिने छ । महानगरका अनुसार एडिबीले पोखराका विभिन्न परियोजनामा आर्थिक सहयोग गर्ने भएको छ । त्यस्ता परियोजना छनोट भइसकेका छन् ।
सोअन्तर्गत सहिदचोक–तीनकुने–राधाकृष्ण मार्ग–एसओएस–घले चोक–हरियो खर्क–पिआइए आठ किमी आठ सय मिटर सडक सुधार योजनालाई अन्तिम रूप दिइएको छ । यसका लागि पाँच दशमलव ३४ मिलियन अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ ।
पञ्चासे पारिस्थितिक विकास र पहुँच परियोजनाअन्तर्गत दमदमेबाट भन्ज्याङसम्मको १३ किलोमिटर सडक कालोपत्र, भन्ज्याङबाट पञ्चासेसम्म बाटोको स्तरोन्नति, सुविधासहितका ‘सर्भिस प्वाइन्ट’ स्थापना, विद्यमान घरबास (होमस्टे)को एकीकृत प्रवर्द्धन योजना र गुरुङ सङ्ग्रहालयको संरक्षणका लागि तीन दशमलव शुन्य पाँच मिलियन अमेरिकी डलर खर्च हुनेछ ।
पञ्चासे एक सयभन्दा बढी प्रजातिका अर्किड र पोखरी रहेको एक प्रसिद्ध तीर्थस्थल तथा संरक्षित वन क्षेत्र हो । एडिबीकै सहयोगमा लेक टु लेक साइकल ट्रयाक र फेवाताल सुधार परियोजनासमेत सञ्चालनका क्रममा रहेको छ । परियोजनाअनुसार नौवटा ताल र १८ वडालाई जोड्ने गरी ८५ किलोमिटर लामो साइकल ट्रयाक निर्माण गरिनेछ।
फेवाताल सुधार परियोजनाअन्तर्गत बसाइ व्यवस्थापन, शौचालय, ‘वाटर फाउन्टेन’, ‘वाटर स्प्रिङ प्रोटेक्सन’, ‘इन्फरमेसन बोर्ड’, ‘डाइरेक्सन बोर्ड’, साइकल पार्किङ, सर्भिस प्वाइन्टसहित साइकल स्ट्यान्डको निर्माण गरिनेछ । यसमा तीन दशमलव शुन्य पाँच मिलियन अमेरिकी डलर खर्च हुने महानगरले जनाएको छ ।
रानीवन इको ट्रेल र फेवाताल सुधार परियोजनाअन्तर्गत ड्यामसाइडबाट रानीवनलाई सिसाको पुलले जोड्ने, शान्ति स्तूप र फेवातालको परिधिलाई एकीकृतरूपमा जोड्दै रानीवनबाट इको ट्रेल विकास गर्ने योजना रहेको छ ।
इको रुटमा विश्रामस्थल, शौचालय, धारा, मन्दिर जीर्णोद्धार, सूचना बोर्डलगायत सार्वजनिक सुविधा समावेश हुनेछन् । यसमा पाँच दशमलव ६३ मिलियन अमेरिकी डलर खर्च हुने छ । शान्ति वनबाटिका बोटानिकल गार्डेन निर्माण हुनेछ । परियोजनाअन्तर्गत विद्यमान वन क्षेत्रलाई हरियाली केन्द्रका रूपमा विकास र स्तरोन्नति गरी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गरिनेछ । त्यहाँ जडीबुटी बगैँचा, पैदलमार्ग, टिकट काउन्टर, विश्रामस्थल, ‘पिकनिक सेड’, ध्यान केन्द्र, ‘कम्पाउन्ड वाल’, ‘फेन्सिङ’, ‘एप्रोच रोड’लगायत निर्माण हुनेछ ।
अर्को परियोजनामा पोखराको पुरानो सम्पदा संरक्षणसँग जोडिएको छ । महानगरपालिकाका वडा नं २, ३ र ४ मा रहेका पुराना शैलीका कलात्मक भवन तथा मन्दिरको संरक्षणका लागि यो परियोजना लागू गरिनेछ । रामकृष्ण टोललाई पोखरा हेरिटेज साइटका रूपमा विकास गर्दै एक प्रमुख पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गरिने छ । यसले पुरानो पोखराको सहरी पुनरुत्थानसहित सिद्दार्थचोकबाट विन्ध्यवासिनीसम्म एक दशमलव पाँच किमी सडकको स्तरोन्नति र फुटपाथ निर्माण गर्नेछ । यसका लागि एडिबीले एक दशमलव ९८ मिलियन अमेरिकी डलर खर्च गर्नेछ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लेकसाइडसम्मको सडक स्तरोन्नतिका लागि प्राविधिक, वातावरणीय र आर्थिक सम्भाव्यता प्रतिवेदन तयार भइसकेको छ । यस परियोजनाको लागि डिएससीएस खरिदका लागि टिओआरको तयारी भइरहेको छ । यसमा दुई मिलियन अमेरिकी डलर खर्च हुनेछ । यीलगायतका परियोजनाका विषयमा एडिबीको टोलीले प्रमुख आचार्यसँग छलफल गरेको हो । सो क्रममा प्रमुख आचार्यले परियोजना तोकिएकै समयमा सम्पन्न गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।
टोलीमा एडिबीका कार्यकारी निर्देशक सुलेमानसहित निर्देशक सल्लाहकार म्याथ्यु सुलिभान, निर्देशन सल्लाहकार भीमकान्त न्यौपाने र सहरी विकास विज्ञ शिव पौडेल रहेका थिए । परियोजनामा एडिबीले ७५ प्रतिशत र महानगरपालिकाले २५ प्रतिशत लगानी गर्नेछ ।