काठमाडौं । बागलुङमा सुरु गरिएका विकास निर्माणका आयोजना समयमै पूरा भएको भए जिल्लाले मुहार फेरिसकेको हुन्थ्यो । जिल्लाका लागि विभिन्न विकासका योजना ल्याउने होडबाजी चलिरहे पनि समयमै योजना कार्यान्वयन हुन नसक्दा अवस्था भने निराशाजनक बनेको छ ।
जिल्लामा सञ्चालित एक दर्जनबढी ठूला आयोजना रुग्ण अवस्थामा छन् । मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङदेखि घोडाबाँधे खण्ड निर्माण सुरु भएको आठ वर्षमा पनि सम्पन्न हुनसकेको छैन । विसं २०७२ मा दुई वर्षमा सक्ने गरी भएको ठेक्का सम्झौता पाँच पटकसम्म म्याद थप भसकेको छ ।
मध्यपहाडी लोकमार्ग मात्रै नभइ ढोरपाटन सालझण्डी सडक, कालीगण्डकी करिडोर र गण्डकी प्रदेश अन्तर्गतका पाँच ठूला सडक निर्माणमा पनि ढिलाइ देखिएको छ ।
जिल्लामा सञ्चालित नगरखानेपानी लिफ्ट आयोजनादेखि पालिकाका सिंहदरबारसम्मका भवन निर्माणमा ढिलाइ भइरहेको छ । पछिल्लो समय अस्पताल जस्तो संवेदनशील क्षेत्रका भवनसमेत समयमै निर्माण सम्पन्न हुन नसक्नु बागलुङका लागि लज्जा बोध भएको जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले बताए ।
उपल्ला चौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी–एससिएफ–इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरेपनि अहिलेसम्म अझै सडक सम्पन्न हुन नसकेको हो । कूल २५ किमि सडकको दुई खण्डमध्ये १२ किमि सडकमा अझै पूर्वाधार निर्माण गर्न बाँकी छ ।
मध्यपहाडी लोकमार्ग आयोजना कार्यालप पर्वतका इञ्जिनियर पवन सुवेदीका अनुसार उपल्लो खण्ड बिहुँ घोडाबाधेको १२ किमि सडकको ठेक्का तोडेर नयाँ प्रक्रियामा जान लागिएको र तल्लो खण्ड बागलुङ बजारदेखि बिहुँ खण्डको १३ किमि सडकको अन्तिम पटक म्याद थप्ने तयारी भइरहेको छ ।
सुवेदीका अनुसार सार्वजनिक खरिद ऐनको १२औँ संशोधनअनुसार अन्तिम पटक म्याद थप्ने तयारी भइरहेको र सडकमा निर्माणले समेत तीव्रता पाएको छ । अहिले उक्त खण्डको बाँकी काम सक्नका लागि ३० जना मजदुर परिचालन भइरहेको उनले जानकारी दिए ।
धौलागिरि अस्पतालको भवन निर्माण सम्पन्न भए पनि हस्तान्तरण भएको छैन । वि.सं २०७१ मा ठेक्का सम्झौता भएको भवन नौ वर्षमा निर्माण सकिए पनि भुक्तानी प्रक्रियामा भएको ढिलाइले हस्तान्तरण नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको धौलागिरि अस्पतालका मेडिकल सुपरटेण्डेन्ट डा रवि रञ्जन प्रधानको भनाइ छ ।
यस्तै बागलुङमा गण्डकी प्रदेश सरकारका पाँच वटा ठूला सडकमध्ये एउटा सडकमात्रै सम्पन्नताको चरणमा पुगेको छ । बाँकी चारवटा सडक निर्माण सम्झौतामा म्याद मात्रै थप गर्ने काम भइहेको छ ।
बागलुङको दक्षिण भेगकको मुख्य सडकका रुपमा रहेको कुश्मिसेरा–राङ्खानी सडक अहिले अलपत्र जस्तै छ । उक्त सडक दुई वर्ष पहिलै कालोपत्र गर्नेगरी ठेक्का सम्झौता भएकोमा अहिलेसम्म पूर्वाधारको कामसमेत सम्पन्न भएको छैन ।
पूर्वाधार विकास कार्यालय बागलुङ अन्तर्गत कुश्मिसेरा राङ्खानी सडक जस्ता अन्य तीन सडकको हालत समेत उस्तै छ । गलकोटको हटियादेखि ताराखोला जोड्ने सडक, बागलुङ नगरपालिका–४ कुडुलेदेखि मालिका हुँदै पञ्चकोट पुग्ने सडक र ढोरपाटनदेखि म्याग्दी जोड्ने सडक अहिले अलपत्र अवस्थामा छन् ।
सडक आयोजना मात्रै होइन ३४ करोडको लागतमा निर्माण हुने भनिएको बागलुङ नगर लिफ्ट खानेपानी आयोजना पनि पूरा भएको छैन । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी वि.सं २०७५ असार ३१ मा कन्काइ जयमाता जेभिले निर्माणको जिम्मा लिएको लिफ्ट आयोजना चार पटक म्याद थप्ने प्रक्रियामा छ । उक्त आयोजानको परीक्षणसमेत असफल भइसकेको छ ।
यस्तै बागलुङ नगरपालिकाको १८ करोड लागतको १५ शय्याको अस्पताल भवन, जैमिनी नगरपालिकाको प्रमुख प्रशासकीय भवन र गलकोट नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणमा ढिलाइ भइरहेको छ । अहिले तीन वटा भवन निर्माणको अन्तिम चरणमा आउनुपर्ने समयमा पहिलो तला ढलान गरिएको छ ।
जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले स्थानीय तहको आयोजनाको तुलनामा संघ र प्रदेशका आयोजनाको गति सुस्त रहेको बताउँछन्। उनले विकास निर्माणका लागि योजना मागमा जस्तो ध्यान दिइन्छ त्यस्तो ध्यान कार्यान्वयनमा नदेखिएको स्वीकार गरे ।
“जिल्लाका एक दर्जन ठूला आयोजनाको प्रत्यक्ष अवलोकन गरेको छु, निर्माण कतै अलपत्र छ कतै निकै ढिलासुस्ती देखिएको छ”, उनले भने, “प्रदेशका पाँचवटा ठूला सडक र मध्यपहाडी लोकमार्ग सडक कालोपत्र हुने हो भने यहाँका जीवनस्तर बढ्ने छ ।”
ती रुग्ण आयोजनाको आफूहरुले मात्रै अनुगमन गरेर नहुने भन्दै उनले संघ र प्रदेशको आयोजनाको अनुगमन र निर्माण फितलो भएको बताए । सालझण्डी–ढोरपाटन सडक र कालीगण्डकी करिडोरसमेत कालोपत्र भइसक्दा बागलुङका सबै मुख्य सडक कालोपत्र भइसक्नेछ उनको भनाइ छ ।