काठमाडौं । संविधान दिवसको अवसरमा असोज ३ गते राष्ट्रपतिबाट माफी पाउने कैदीहरूको सूची आइतबार (भोलि) सार्वजनिक गरिने भएको छ । गृह मन्त्रालयको सिफारिसमा सरकारबाट स्वीकृत भएको कैदी बन्दीहरूको सूची भोलि सार्वजनिक गर्ने तयारी रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा आचार्य रेग्मीले सरकारको निर्णय भोलि नै आइपुग्ने र साँझ ५ बजेसम्ममा राष्ट्रपति कार्यालयले माफी पाउने र कैद कट्टी हुनेबारे जानकारी गराउने जानकारी दिइन् । गणतन्त्र दिवस, संविधान दिवसमा असल चालचलन भएका र नेगेटिभ लिस्टमा नरहेका कैदीलाई मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपतिले माफी दिने परम्परा रहिआएको छ ।
कर्तव्य ज्यान मुद्दामा जन्मकैद ठहर भएका, काठ चोरी, हतियार तथा खरखजाना, सरकारी दस्तखत कीर्ते, सवारी ज्यान, ठगी र कुटपिटमा संलग्न भएर दोषी ठहर भएका व्यक्तिहरू माफी पाउनेको सूचीमा परेका छन् ।
विसं २०७५ भदौ १ गते लागू भएको अपराध संहिताअनुसार जन्मकैद ठहर भएकालाई भने आममाफी दिन नमिल्ने सहन्यायाधिवक्ता लोकराज पराजुलीले बताए । त्यसअघिका घटनामा जन्मकैद भएको खण्डमा भने माफी पाउने उनले प्रस्ट पारे । सरकारले कानूनसम्मत नै आममाफी र कैद मिनाहा हुने कैदीको सूची बनाएको दाबी गरेको छ ।
जबरजस्ती करणी, लागूऔषध कारोबार, अपहरण तथा शरीर बन्धक, मानव बेचबिखन, वन्यजन्तु चोरी सिकारीलगायतका कसुरमा सजाय भएका व्यक्तिहरूलाई भने छुट दिन नपाइने संवैधानिक व्यवस्था छ ।
यसअघि गृह मन्त्रालयले माफी मिनाहाका लागि ३४ जनाको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो तर त्यसको स्वीकृतिको निर्णय नभएको जानकारी आएको गृह मन्त्रालय स्रोतले बताएको छ ।
कैद कट्टीका लागि भने ७० जनाको सूची गृहले शुक्रबार प्रधानमन्त्री कार्यालयमा पठाएको छ । ५० प्रतिशत सजाय भुक्तान गरेका कैदीहरूलाई कैद कट्टी गर्ने व्यवस्था छ ।
सर्वोच्च अदालतको आदेश भएमा ४० प्रतिशत कैद भुक्तान गरेकालाई पनि कैद कट्टी दिने व्यवस्था छ । सोही अनुसार मन्त्रालयले उनीहरूको सूची तयार गरेको हो ।
सरकारले सिफारिस गरेअनुसार राष्ट्रपति कार्यालयले संविधान दिवस, गणतन्त्र दिवसको अवसरमा माफी र कैद मिनाहा दिने प्रचलन छ । यसअघि गणतन्त्र दिवसको अवसरमा टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई माफी दिँदा सरकार विवादमा परेको थियो । पाँच वर्ष तीन महिना जेल बसेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको थियो ।