काठमाडौं । नेपाल चिकित्सक सङ्घले आज देशभरका सबै स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने भएका छन् ।
चिकित्सक आक्रमणको विरोधमा सबै सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा सेवा बन्द गर्ने घोषणा गरिएको छ।
सङ्घले विज्ञप्ति जारी गर्दै आज देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गर्ने जनाएको छ ।
सन्चो अस्पतालमा कार्यरत डा विकास थापा र डा प्रशान्त बिडारीमाथि भदौ २७ गते बिरामीको विषयलाई लिएर आक्रमण भएको सङ्घले आरोप लगाउँदै आएको छ । चिकित्सक द्वय थापा र बिडारीमाथि भएको आक्रमणका दोषीलाई कानुनी दायरामा ल्याउन भन्दै सङ्घले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो ।
सङ्घले घटनामा संलग्न सम्पूर्ण दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्नेमा समेत जोड दिएको छ ।
यो प्रकरणमा प्रहरीले अहिलेसम्म ४ जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा पदमपोखरीका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधान रहेका छन् । आक्रमण गर्नेहरूलाई कारबाहीको सुनिश्चित हुनुपर्ने पनि उनीहरूको माग छ।