मधेश प्रदेश, महोत्तरी जिल्लामा अवस्थित रामगोपालपुर नगरपालिका बर्दिबास-जलेश्वर राजमार्ग समीपमा रहेको एक नगरपालिका हो । बहु-जातजातिहरूको बसोबास रहेको यो नगरपालिका धार्मिक पर्यटनको सम्भावना बोकेको नगरपालिका हो ।
सौतिनिया माई पोखरी, राधा कृष्ण मन्दिर लगायतका मठ मन्दिरहरू रहेको यो नगरपालिकालाई शिक्षाको केन्द्र बनाउन जनप्रतिनिधिहरू प्रयास गरिरहेका छन् । नगरपालिकामा नगरप्रमुखको भूमिका राम दुलार साहले निभाइरहेका छन् ।
उनै नगरप्रमुख राम दुलार साहसँग नगरपालिकाका विविध विषयमा केन्द्रित रहेर व्यवस्था डटकमका लागि सुरज पराजुलीले गरेको कुराकानीको सम्पादित अंश :
जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आइसकेपछि के कस्ता कामहरू गर्नुभयो ?
रामगोपालपुरमा नमुना विद्यालय (महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालय) रहेको छ । उक्त विद्यालयमा कक्षा ३ सम्म अंग्रेजी माध्यममा पढाइ हुने व्यवस्था मिलाएका थियौँ, अहिले त्यसलाई कक्षा ४ सम्म बनाएका छौं । शिक्षकहरूको कमी पूर्ति गरेका छौं ।
२९ जना नगर स्वयंसेवक शिक्षक खटाएर १८ वटा सामुदायिक विद्यालयमा कक्षा अनुसारका शिक्षकको व्यवस्था मिलाएका छौं । दरबन्दी नभएको विद्यालयमा पनि नगर स्वयंसेवक शिक्षक राखी शिक्षा क्षेत्र स्तरोन्नति गर्ने कोसिसमा लागेका छौं । नेपाल सरकारबाट छात्रवृत्ति पनि आउँछ र वडाध्यक्षहरूले युनिफर्म, झोला आदि समेत वितरण गर्ने गरेका छन् ।
स्वास्थ्यको कुरा गर्नुपर्दा हामीले मधेश प्रदेश भरी एम्बुलेन्स सेवा निस्शुल्क उपलब्ध गराएका छौं । हामीसँग ७ वटा आधारभूत स्वास्थ्य केन्द्र, ३ वटा स्वास्थ्य चौकी र एउटा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा २४ घण्टै इमरजेन्सी तथा प्रसूति सेवाको व्यवस्था मिलाएका छौं । यसको लागि आवश्यक स्वास्थ्यकर्मी करारमा भर्ना गरेर पदपूर्ति गरेका छौं ।
कृषि क्षेत्रको अवस्था चिन्ताजन्य रहेको छ । हाम्रोमा खडेरी परिरहन्छ । जंगा खोलामा बाँध बाँधेर सिचाइको व्यवस्था मिलाइ यसको समाधान गर्ने प्रयास गरिरहेका छौं ।
नगरपालिकामा रोजगारीको कस्तो अवस्था छ ?
अधिकांश युवाहरू विदेश पलायन भइरहेका छन् । नगरपालिकामा रहेका १२/१४ इट्टा उद्योग छन् । एउटा इट्टा उद्योगमा २०० देखि ३०० श्रमिकहरूले काम गर्छन् । उच्च शिक्षा हासिल गरेकाहरू विद्यालयमा अध्यापन गराउने गर्छन् । नगरपालिकाले करारमा शिक्षक, स्वास्थ्यकर्मी, नगर प्रहरी लगायतलाई रोजगार दिइरहेको छ । यद्यपि बेरोजगारीको समस्या पूर्ण रूपमा समाधान हुन भने सकेको छैन ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तरगत केही रोजगारी सिर्जना गरेका छौं । महिलाहरूलाई आत्मनिर्भर बनाउन सिलाइ-कटाइको तालिम दिई ९३ जनालाई सिलाइ मेसिन(कल) वितरण गरेका छौं । तर, यी कुराहरू पर्याप्त छैनन् ।
महिला सशक्तीकरणको लागि कुनै योजना बनाउनुभएको छ ?
विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरीरहेका छौं/गर्नेछौँ । रोजगारीको सुनिश्चितता गर्न र आत्मनिर्भर बनाउन सीपमूलक तालिमहरू प्रदान गरिरहेका छौं । गृहिणीहरूलाई मुढा बनाउन सिकाइ उक्त उत्पादन नगरपालिकाले खरिद गर्ने सोच लिएका छौं । नगरपालिकाले कुर्सीको साटो त्यही मुढा प्रयोग गरी उनीहरूलाई प्रोत्साहन गर्ने योजनामा छौं ।
शिक्षामा छात्राहरूको पहुँच राम्रो छ । हामीले बालविवाह उन्मूलन, छोरी पढाउने अभियान लगायतका कुरामा काम भइरहेका छन् । १२ कक्षा पास गरेर विवाह गर्ने छोरी चेलीलाई ३१ हजार नगरपालिकाबाट पुरस्कार, स्नातक सकेर विवाह गर्नेलाई ५१ हजार पुरस्कारको व्यवस्था गरेका छौं । जसले शिक्षाप्रति महिलाहरूलाई आकर्षित गर्ने गरेको छ । गरिब तथा असहायलाई छोरीको विवाहका लागि २५ हजार सहयोग गर्ने गरेका छौं ।
मिथिला संस्कृतिलाई प्रवर्धन गर्नेबारे केही सोच बनाउनुभएको छ ?
वृहत् रूपमा यसबारे कुनै योजना बनाएका छैनौं । चाडपर्व, मेला इत्यादि भइरहेका छन् । नगरमा अधिकांश महिला गृहिणी भएर बस्ने हुनाले मिथिला कला प्रवर्धन गर्नतर्फ ध्यान जान सकेको छैन ।
नगरमा पर्यटनको कस्तो सम्भावना रहेको छ ?
पर्यटनको राम्रो सम्भावना रहेको छ । पौराणिक कालदेखि अस्तित्वमा रहेको सौतिनिया पोखरीलाई सौन्दर्यीकरण गर्ने काम गरिरहेका छौं । संघबाट प्राप्त भएको ७५ लाख बजेटमा हाम्रो तर्फबाट ७५ लाख रकम थप गरी कूल डेढ करोडको लगानीमा सौन्दर्यीकरणको काम हुँदैछ । यसपालिबाट पोखरीमा नौका शयरको व्यवस्था मिलाउने छौं ।
यहाँ पोखरीहरू त छन् नै, मठमन्दिरहरू पनि उस्तै रहेका छन् । लोकप्रिय राधाकृष्ण मन्दिर, दुर्गा मन्दिर, सौतिनिया पोखरीस्थित महादेव मन्दिरले धार्मिक पर्यटनको राम्रो सम्भावना बोकेका छन् ।
कृषिको क्षेत्रमा कस्ता कामहरू भइरहेका छन् ?
केन्द्रबाट विशेष अनुदान स्वरूपमा १ करोड रुपैंया किसानहरूको लागि व्यवस्था गरिएको छ । उक्त रकम कोल्ड स्टोर(शीत गृह) निर्माण गर्न खर्च हुनेछ ।
समूह बनाएर आउने कृषकहरूलाई (स्यालो ट्युबवेल) पम्पिङ सेटमा ८५ प्रतिशत अनुदान दिने गरिएको छ । व्यक्तिगत रूपमा आउनेलाई ५० प्रतिशत अनुदान दिने गरिन्छ । सिचाइका लागि नगरले यसपालिबाट नि:शुल्क विद्युत्को व्यवस्था मिलाएका छौं ।
नगरपालिकाको नाममा मिटर लिएर सिचाइमा उपभोग गर्न सकिन्छ । आफ्नो कार्यकालमा खेत खेतमा सिचाइको व्यवस्था मिलाउने उद्देश्य छ । यसमा विद्युत् प्राधिकरणको सहयोग आवश्यक हुनेछ ।
मलको समस्या पोहोर साल निकै भएको थियो । यसपालि आएको छ तर मलको विषय केन्द्रबाट हेरिने कुरा भएकाले नगरले केही गर्न सक्ने अवस्था रहँदैन । आएको मललाई समानुपातिक रूपमा बाँड्ने काम हामी गर्छौं ।
आफ्नो कार्यकालमा के कस्ता कामहरू गर्ने योजनामा हुनुहुन्छ ?
किसान र कृषिलाई प्रोत्साहन गर्न जस्तो सुकै खडेरी आएपनि सिचाइका सर्वसुलभ व्यवस्था गर्ने सोच लिएको छु । शिक्षा क्षेत्रमा उचित लगानी गर्ने सोचमा छु । हाम्रो महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालय नमुना विद्यालयमा प्रस्तावित भएकाले प्रत्येक वर्ष आउने १ करोड रुपैंया भौतिक संरचना निर्माण गर्न खर्च भइरहेको छ । शैक्षिक व्यवस्थापनका लागि पनि ५० लाख आउने गरेको छ । त्यसको उचित प्रयोग गरी नमुना विद्यालयको उद्देश्य प्राप्त गरी यस नगरलाई शिक्षाको केन्द्र बनाउन प्रयास गर्नेछु ।
राजमार्गमै हाम्रो नगरपालिका परेको हुनाले बाटोको उति समस्या छैन । नगरपालिकाको पहलमा सहायक बाटो पनि निर्माण भइरहेको छ । विद्युत्को सुविधा सबै ठाउँमा पुगेको छ । तर, ठाउँ-ठाउँमा मर्मत सम्भारको काम भने भइरहेको छ ।
वातावरण जोगाउनका लागि वृक्षारोपण गरिरहेका छौं । सडकको दुवैपटि वृक्षारोपण गर्नेछौँ, यसको लागि बजेट पनि छुट्याएका छौं ।
तपाईंको नगरमा जनप्रतिनिधि र कर्मचारीबिच कस्तो सम्बन्ध छ ?
दुवैको सम्बन्ध राम्रो हुनैपर्छ । कहिलेकाहीँ एक अर्काको कुरा नबुझेर समस्या आउन सक्छ तर सल्लाह गरेर अघि बढ्ने गरेका छौं । राम्रै सम्बन्ध छ भनौँ ।
मानसिक स्वास्थ्यको विषयमा नगरले कस्तो पहल गर्दैछ ?
मानसिक समस्या समाधानका लागि जनचेतनाको आवश्यक रहेको छ । अभिभावकले पनि आफ्नो बच्चाहरूको मनस्थिति बुझ जरुरी छ । अहिले मानसिक स्वास्थ्यको विषयले विकराल रूप लिइरहेको छ । यस्तो विषयमा खर्च गर्दा मान्छेहरूले पैसा दुरुपयोग गरेको आरोप लगाउँछन् । यहाँ प्रत्यक्ष देखिने काम रुचाइन्छ । मानसिक स्वास्थ्य जस्ता निकट भविष्यमा नतिजा देखिने कामहरू बारे बुझाउन समस्या भएको छ ।
अन्त्यमा तपाईंका केही कुरा राख्न चाहनुहुन्छ ?
नगरको हितका लागि जनताबाट आएको सल्लाह सुझाव ग्रहण गर्नेछु । नगरवासीको सदैव हित हुने तथा नगरको सुधार कार्यका लागि सधैँ तत्पर रहनेछु ।