काठमाडौं । हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले पहिलो वार्षिकोत्सव मनाउने भएको छ । होटेल उद्योगको प्रमुख अङ्ग सेल्स एण्ड मार्केटिङ विभागका प्रतिनिधि आबद्ध एसोसिएसनले यही असोज ३ गते (सेप्टेम्बर २० तारिख)मा वार्षिकोत्सव मनाउन लागेको हो ।
यो कुराको जानकारी प्याराडाइज इन काठमाडौंका बिजनेस डेभलपमेन्ट म्यानेजर दीपक पोखरेलले दिएका हुन् । कार्यक्रममा देशभरिका सबैथरी होटेलका सेल्स एण्ड मार्केटिङ विभागका प्रतिनिधिहरूको उपस्थिति रहनेछ । अघिल्लो वर्ष विशेष कार्यक्रम आयोजना गरी सेल्स एण्ड मार्केटिङ विभागका प्रतिनिधिहरूको सल्लाह अनुसार एसोसिएसन तयार गरिएको थियो ।
काठमाडौं बुढानीलकण्ठमा रहेको तपेस रिसोर्टमा आयोजना हुने उक्त कार्यक्रममा सेल्स एण्ड मार्केटिङ विभागमा जोडिएका नयाँ तथा पुराना सदस्यहरूको भेटघाट हुनेछ भने एक अर्कालाई के-कसरी सहयोग गर्न सकिन्छ भन्ने बारे छलफल समेत गरिनेछ ।
सेल्स एण्ड मार्केटिङ विभागमा जोडिएका नयाँ सदस्यहरूलाई यसको महत्व बुझाइ थप नयाँ जनशक्तिलाई आकर्षित गर्नु समेत कार्यक्रमको उद्देश्य रहेको छ । ह्वाट्सएप ग्रुप तथा सामाजिक सञ्जालमार्फत कार्यक्रमका लागि सबैलाई आमन्त्रित गरिएको छ ।
इच्छुक सदस्यले तोकिएको शुल्क तिरी सहभागिता जनाउन पाउने यस कार्यक्रमको आयोजक सबै सदस्य स्वयम् रहेका छन् । यद्यपि यसको व्यवस्थापनको जिम्मेवारी बाराही ग्रुपका राजकुमार के.सी, प्याराडाइज इनका दीपक पोखरेल, कुटी रिजोर्टका देवराज अर्याल, वाइल्ड एडभेन्चर रिजोर्टका किशोर पौडेल, जङ्गल क्राउनकी प्रभा जिएम, होटेल यल्लो पगोडाका प्रदीप पौडेल, होटेल याक एण्ड यतिका रविन महर्जन, केजीएच ग्रुपका संजिव तुलाधर, धुलिखेल माउन्टेन रिजोर्टका उमेश श्रेष्ठले लिएका छन् ।उपत्यका बाहिरबाट आउने अतिथि सदस्यहरूका लागि बस्ने व्यवस्था उल्लेखित सदस्यहरूले मिलाउने छन् ।
असोज ३ गते दिउँसो २ बजेबाट सुरु हुने कार्यक्रम बिचमा स्न्याक्स हुँदै बेलुकाको डिनरसँगै समापन हुनेछ ।