काठमाडौं । आन्दोलनरत विद्यालय शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। वार्ता बिहान ९ बजे सुरु गर्ने तयारी छ ।
बिहीबार बिहान र बेलुका दुई चरणमा अनौपचारिक छलफल भएको थियो । बिहानको छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा मन्त्री अशोक कुमार राई र शिक्षक आन्दोलनको नेतृत्वकर्ता नेपाल शिक्षक महासंघका प्रतिनिधि सहभागी थिए ।
बिहीबार दुई चरणमा छलफल भए पनि कुनै ठोस सहमति भने भएको छैन। त्यस्तै, बिहीबार बेलुका फेरि गृहमन्त्री श्रेष्ठ, शिक्षामन्त्री राईका साथै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, अर्थमन्त्री डा। प्रकाशशरण महत र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङ सहित ती मन्त्रालयका सचिवहरूसहित शिक्षकका प्रतिनिधिहरूसँग छलफल भएको थियो ।
साँझ ७ बजेदेखि सुरु भएको छलफल बेलुका साढे ९ बजेसम्म चलेको थियो । सो छलफलमा शिक्षकका प्रतिनिधिहरूले १७ बुँदे माग प्रस्तुत गरेका थिए । मन्त्रीहरूले कतिपय माग संविधान संशोधन गर्नुपर्ने खालका रहेकाले उक्त मागमा सहमति हुन नसक्ने बताएका थिए ।
शिक्षकले राहत, साबिक उच्च माध्यमिक शिक्षा परिषद् अन्तर्गत अस्थायी तथा करार सेवाका कार्यरत, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धारलगायतका शिक्षकका समस्यालाई आन्तरिक प्रतिस्पर्धामार्फत समाधान गर्नुपर्ने, विद्यालयमा कर्मचारीको दरबन्दी सिर्जना गरी हाल कार्यरतलाई स्थायीको प्रक्रियामा लैजानुपर्ने तथा अवकास प्राप्त वा अवकासमा जान चाहनेलाई सुविधा प्रदान गर्नुपर्ने माग राखेका छन्।
त्यस्तै बाल शिक्षकलाई पनि प्राथमिक तह तृतीय श्रेणीसरह सुविधा दिनुपर्ने, शिक्षक बढुवाको प्रावधानलाई व्यावहारिक बनाउनुपर्ने, शिक्षकलाई सङ्घीय सरकारमातहतमै राख्नुपर्ने, निजी तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षकलाई पनि सरकारीसरह सुविधा प्रदान गर्नुपर्नेलगायत १७ बुँदे माग पनि उनीहरूले राखेका छन्। आफूहरूले विगतमा भएका सहमति कार्यान्वयनकै लागि आन्दोलन गरेको उनीहरूको दाबी छ।