काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चंगा, ड्रोन, बेलुन लगायत नउडाउन आग्रह गरेको छ ।
विमानस्थल क्षेत्रमा पटक–पटक चंगा, ड्रोन, बेलुन उडाउने गरेको पाइएको र यसबाट उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएकाले सो कार्य नगर्न सबैमा आग्रह गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए ।
उनले भने, ‘विमानस्थल क्षेत्र आसपासमा पहिलेदेखि नै चंगा, ड्रोन, बेलुन उडाउन निषेध गरिएको छ, दशैंतिहार लगायतका चाडपर्व नजिकिँदै गएकाले चंगा, ड्रोन, बेलुन उडाउने कार्य नहोस् भन्नका लागि आग्रह गरिएको हो ।’
प्राधिकरणले विमानस्थल क्षेत्र आसपासमा उडान तथा अवतरणको समयमा पटक–पटक चंगा, ड्रोन, बेलुन उडाउने गरेको पाइएको र यसबाट उडान सुरक्षामा गम्भीर असर पर्न सक्नेतर्फ सचेत रहन अनुरोध सहितको एक सूचना आज प्रकाशित गरेको छ ।
चंगा, ड्रोन, बेलुन, लेजर लाइटले उडान सुरक्षामा पार्ने जोखिमतर्फ ध्यान दिएर यस्ता गतिविधि नगर्न र नगराउन सम्बन्धित सबैलाई सूचनामार्फत सूचित गरिएको छ । प्राधिकरणको आग्रहलाई अटेर गरी यस्ता काम गरेमा कानूनअनुसार कडा कारबाही गरिने प्रवक्ता तथा उपमहानिर्देशक निरौलाले बताए ।