काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षणले सबै नेपालीलाई एकताबद्ध गर्ने बताएका छन् ।
नेपाल तामाङ संघ समाजवादीको केन्द्रीय कमिटीको दोस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले विविध जातजातिका फरक भाषा, साहित्य, कला, मौलिक संस्कृति र रहनसहन संवर्द्धनबाट नेपाली समाजलाई अन्तर्राष्ट्रिय तहमा सांस्कृतिकरूपमा सम्पन्न बनाएको बताए ।
मुलुकमा कुनै वर्गमाथि हुने विभेद र शोषण आफूहरूलाई स्वीकार्य नहुने उल्लेख गर्दै उनले त्यस्तो कार्यविरूद्ध सबै एकजुट भई एकआपसमा सहअस्तित्व, समतामूलक समाज, सामाजिक रूपान्तरणका लागि क्रियाशील हुनुपर्ने विचार व्यक्त गरे ।
देशको हरेक परिवर्तन सफल पार्न सो समुदायको महत्त्वपूर्ण योगदान रहेको बताउँदै उनले उनीहरूको आर्थिक, सांस्कृतिक र सामाजिक रुपान्तरण अपेक्षाकृत रूपमा हुन नसकेकाले अधिकार संरक्षण गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष नेपालले सबै समुदायका धर्म, संस्कृति संरक्षण तथा अधिकार स्थापित गरी सदियौंदेखि कायम रहिआएको धार्मिक सहिष्णुतालाई जोगाउन प्रत्येक नेपालीको दायित्व रहेको उल्लेख गरे ।
मुलुकमा समाजवादका माध्यमबाट आर्थिक विकास र सुशासन कायम हुने विश्वास व्यक्त गर्दै अबको क्रान्ति समाजवाद सहितको आर्थिक उत्पादनमा हुनुपर्नेमा जोड दिए ।