काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ध्यान विज्ञानलाई आत्मसात् गर्न सकियो भने जीवनोपयोगी हुने बताएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आज शनिवार आयोजना गरिएको एक दिवसीय स्वजागरण अभियान तथा ध्यान विज्ञान कार्याशालाको समापन गर्दै उनले ध्यान र योगाभ्यासले मानिसमा तनाव कम गराउन मद्दत गर्ने बताए ।
कार्याशाला सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउनेप्रति आभार प्रकट गर्दै उनले भने, ‘ध्यान सजगता हो, होसको स्थिति हो, विधि र प्रक्रियाअनुसार ध्यानको स्थानमा पुग्न सकियो भने यसले जीवन चिन्न र सार्थक तुल्याउन महत्त्वपूर्ण भूमिका खेल्छ ।’
उनले गृह मन्त्रालयले अब मातहतका निकायमा योगाभ्यास तथा ध्यान अनिवार्य गराउने पनि बताए । उनले कार्यालय सुरु भएपछि बिहान १५ मिनेट योग, ध्यान गराउने पनि बताए । यसअघि आज शनिबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले कार्यशालाको उद्घाटन गरेका थिए ।
बिहान ७ः३० देखि सुरु भएको कार्यशाला साँझ मात्रै सकिएको थियो ।
नेपाल सरकार गृह मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले योग र ध्यानलाई तन, मन र वचनका साथ गर्न सक्यौ भने हामीले गर्ने प्रत्येक कार्यहरूमा खुशी प्राप्त हुने बताएका थिए ।
कार्यशालामा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रधानसेनापति प्रभुराम शर्मा, गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सहसचिव, उपत्यकास्थित ३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूको सहभागिता थियो ।