काठमाडौं । परराष्ट्र मन्त्री नारायणप्रसाद साउदले सरकार महँगो मूल्य तिरेर राहदानी तिर्नुपर्ने बाध्यतामा रहेको बताएका छन् । अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले सरकारलाई महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समितिलाई राहदानी व्यवस्थापनको विषयमा जानकारी दिँदै मन्त्री साउदले यस्तो कुरा बताएका हुन् । उनले परराष्ट्र मन्त्रालय महँगो पैसा तिरेर राहदानी उपलब्ध गराउनुपर्ने चापमा रहेको समेत बताए ।
मन्त्री साउदले सरकारले सार्वजनिक खरिद कानूनअनुसार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले महँगो मूल्य (भेरियसन) तिरेर खरिद गरी राहदानी वितरण गरिरहेको बताए । मन्त्री साउदले विद्युतीय राहदानी खरिदका लागि प्रथम पटक बोलपत्र आह्वान गर्दा ५० लाखको संख्यामा खरिद गर्ने प्रस्ताव गरिएकोमा मन्त्रीपरिषद्को निर्णय अनुसार २० लाख मात्रै विद्युतीय राहदानी खरिद भएको बताए ।
उनले अहिलेसम्म नेपालमा राहदानी पुस्तिका छपाई गर्न सक्ने खालको सुरक्षण मुद्रण नभएको र राहदानी सेवा अवरुद्ध गर्न पनि नमिल्ने भएकाले अन्तरिम अवधिका लागि महँगोमा थप राहदानी खरिद गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको जानकारी दिए ।
मन्त्री साउदले राहदानीको माग अत्यधिक रहेकाले महँगोमा भए पनि राहदानी खरिद गरी राहदानी वितरण गरिरहेको बताए । उनले ६६ पृष्ठको राहदानीसमेत ५ लाख राहदानीको मौज्दात रहेकाले सो मौज्दातले करिब ४ महिना मात्रै धान्न सक्ने अवस्था रहेको बताए । उनले ४ महिनापछि राहदानी जारी गर्नको लागि तत्काल महँगोमा भए पनि खरिद गर्नुको विकल्प मन्त्रालयलाई नभएको बताए ।
समितिको बैठकमा राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादवले राहदानीको माग अत्यधिक रहेकाले राहदानी विभागमा भिडभाड भएको बताए । उनले विद्युतीय राहदानी हाई टेक प्रविधि भएकाले जिल्लाहरूबाट वितरण गर्दा समस्या भएको पनि बताए । यादवले जिल्लामा पनि जिल्ला प्रशासन कार्यालयहरूको सहयोग विभागले लिनुपर्ने भन्दै सुरुका दिनमा जिल्ला प्रशासन कार्यालयमा विद्युतीय राहदानी प्रयोग गर्न सक्ने दक्ष जनशक्ति कम रहेको जानकारी दिए ।
महानिर्देशक यादवले गृह मन्त्रालयले ५६ वटा जिल्लाहरूमा १७ जना जनशक्ति थप गरेपश्चात् केही सहज भएको बताए । उनले राहदानी विभागको भीड कम गर्न जिल्ला प्रशासन कार्यालयहरूबाट राहदानी वितरण प्रक्रिया थालनी गरेकाले पछिल्लो ५ महिना सहज भएको बताए ।
उनले अहिले औसतमा दैनिक ६ हजार ५०० सम्म राहदानी छपाई हुने बताए। उनले ६ हजार ५०० राहदानी छपाइमा विभागमा १५ सयसम्म हुने जानकारी दिए । उनले राहदानी विभागमा जनशक्ति अपुग रहेको पनि बताए ।