काठमाडौं । पर्वतको फलेवास ग्रामीण तथा सहर बाहिरको एक सुन्दर पहाडी गाउँ हो । त्यही फलेवासमा जन्मिएका प्रदिप परियार ३० को दशकमै सहसचिव बन्न सफल एक निजामती कर्मचारी हुन् ।
निजामती सेवामा खुल्ला प्रतिस्पर्धाबाट सहसचिव पदमा नाम निकाल्न सफल भएका प्रदिप धेरैका लागि उदाहरणीय समेत बनेका छन् । प्रदिप देशकै कान्छा सहसचिव रूपमा चिनिएका छन् ।
ग्रामीण परिवेशमा हुर्किएका प्रदिप प्रकृतिसँग नजिकिन पाउँदा आनन्द महसुस गर्छन् । खोलानाला, वनजंगल, पाखा पखेराको संगितमा रमाउँछन् । मानिस मेसिन नभएर सामाजिक प्राणी रहेकाले समाजमा घुलमिल हुन जरुरी रहेको उनी बताउँछन् । पहाडझैँ अग्ला संर्घषका थुम्काहरू उक्लँदै उनले अध्ययन पुरा गरेका हुन् । उनी सानो छँदा गाउँमा बाटोसम्म नभएको स्मरण गर्छन् ।
भवानी विद्यापीठ माविबाट ०६१ सालमा एसएलसी पास गरेका उनी विद्यार्थी जीवनमा कहिल्यै दोस्रो हुनु परेन । उनले पढेको विद्यालयमा सरकारी विद्यालयमा हुनुपर्ने गुण थियो या भनौँ अन्य विद्यालयभन्दा फरक थिएन । अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्रिय प्रदिप कविता, कथा, हाजिरी जवाफ जस्ता प्रतियोगितामा पनि सहभागी भइरहन्थे ।
०६२/६३ सालको जनआन्दोलनले धेरथोर प्रभाव उनमा पनि पारेको थियो । आन्दोलनमा प्रत्यक्ष सामेल नभए पनि उनी उक्त आन्दोलनका जानकार थिए । राजनीतिक रूपमा पूर्ण सचेत नभएकाले पनि उक्त आन्दोलनमा नलागेको उनी बताउँछन् । उनले पढाइलाई नै विशेष प्राथमिकतामा राखेका थिए ।
एसएलसीपछि उच्च शिक्षाका लागि गृह जिल्ला छाडेर उनी काठमाडौंको घम्साघम्सीमा प्रवेश गरे । विद्यार्थी जीवनमा विभिन्न छात्रवृत्ति तथा पुरस्कार पाएका उनले शान इन्टरनेसनलबाट आइए उत्तीर्ण गरेका हुन भने पब्लिक युथ क्याम्पसबाट स्नातक गरेका हुन् । स्नातकदेखी स्नातकोत्तरसम्मको अध्ययन गर्दा उनले आइएनजीओ काम समेत गरेका छन् । आइएनजीओमा काम गर्दा पर्वतका करिब १३० वटा विद्यालयमा पुस्तकालय खोल्ने काम गरेको उनले सुनाए । हरेक विद्यालयले एउटा कोठा पुस्तकालयलाई अनिवार्य छुट्ट्याउने प्रबन्ध मिलाएको बताए । दुर्गम ठाउँमा गएर विभिन्न कार्यक्रम चलाउन उनी व्यस्त हुन्थे ।
उनी भन्छन्, ‘बच्चाले छिटो सिक्ने भनेको १२ देखी १८ वर्षको उमेरमा हो । यो उमेरमा उनीहरूले जे सिक्छन्, त्यसले जीवनमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ । शिक्षाबाट नै परिवर्तन सम्भव छ भन्ने संस्थाको थिम रहेकाले त्यही अनुरूप काम गर्थ्यौँ ।’
निजामती यात्राको कुरा गर्दा स्नातकको परीक्षा दिएर गाउँको एक पुस्तकालयमा बसेर नायब सुब्बाको तयारी गरेको उनी सम्झन्छन् । उक्त अध्ययन पश्चात् उनी पहिलो पटकमै सुब्बामा नाम निकाल्न सफल भएका थिए । ०६९ सालमा निजामती सेवामा प्रवेश गरेका उनले नायब सुब्बाको नतिजा आएकै वर्ष शाखा अधिकृतमा पनि आवेदन दिएका थिए । र, परीक्षण काल पूरा नगर्दै उनी शाखा अधिकृत बन्न सफल समेत भए । अधिकृत भएपछि उनले दुर्गम तथा सुगम सबै ठाउँमा सेवा प्रदान गरेका छन् । करिब एक वर्ष नायब सुब्बा भएर काम गरेका उनले शाखा अधिकृतका रूपमा पनि विभिन्न क्षेत्रमा बसेर कामको अनुभव बटुलेका छन् ।
उनले हेल्लो सरकारजस्ता जनताको गुनासो सुन्ने ठाउँमा बसेर समेत काम गरेका छन् । हेल्लो सरकारमा रहँदा जनताका धेरै गुनासो सम्बोधन गरेको उनी बताउँछन् । यही अवधिमा उनले अस्ट्रेलियाली सरकारको छात्रवृत्तिमा अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट स्नातकोत्तर समेत गरे । अस्ट्रेलियाबाट स्नातकोत्तर सकेपछि उनले उपसचिवका लागि दिएको लिखित परीक्षामा नाम निकाले । तर, अन्तरवार्तामा उनी सफल हुन सकेनन् ।
०७८/०७९ सालबाटै उपसचिव पदको परीक्षा दिँदै आएका उनी शाखा अधिकृतबाट उपसचिव नभई सहसचिवको परीक्षामा पास भएका हुन् ।नेपाल सरकारको विभिन्न निकायमा रहेर काम गरेका उनले फरक फरक किसिमका अनुभव बटुलेका छन् । यो उमेरमा आफू सिकाइको चरणमा रहेको उनी बताउँछन् ।
सानो कुराले ठुलो अर्थ राख्छ भनेझैं गर्नुपर्ने कुरा धरै भएपनि ससाना कुराबाट काम सुरु गर्नुपर्ने उनको धारणा रहेको छ । सामान्य कुरामा रमाउने हो भने दुःख कम हुने उनी बताउँछन् । उनी भन्छन्, ‘डाक्टरले नरम भएर बोल्दा पनि बिरामीको आधा रोग निको हुन्छ भनेझैँ कर्मचारीको बोलीले पनि सेवाग्राहीमा प्रभाव पार्छ ।’
कार्यालयहरू समावेशी, अपांगमैत्री, महिलामैत्री बनाउनुपर्नेमा उनी जोड दिन्छन् । लोकसेवा तयारी गर्नु सामान्य कुरा होइन । यद्यपि सोचेजति गाह्रो पनि छैन । अलिकति चलाखी अपनाएर अध्ययन गर्ने बानी बसाल्यो भने सजिलै पास गर्न सकिने उनी बताउँछन् । उनी भन्छन्, ‘जो पसिनाले नुहाएको हुन्छ, उसले इतिहास बदल्छ । अध्ययन मात्र गर्नु भन्दापनि लेखन सिप विकास गर्न जरुरी छ । हरेक प्रश्नको आलोचनात्मक उत्तर दिन सक्षम हुनुपर्छ ।’
हरेक कुराको सकारात्मक र नकारात्मक पक्ष हुन्छ । त्यसलाई कसरी हेर्ने भन्ने कुराले फरक पार्ने उनले बताए । परीक्षामा आएका प्रश्नलाई फरक ढङ्गले समाधान गर्ने क्षमता हुनुपर्छ । अहिलेको अवस्थामा घोकेर उत्तर लेख्ने भन्दापनि आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुपर्ने हुन्छ । तयारी गर्दा पढ्ने भन्दापनि बढी लेखनको अभ्यास गर्न जरुरी रहेको उनको भनाइ छ ।
निजामती सेवा एक सम्मानित पेसा रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘यसको छुटै मर्यादा र प्रक्रिया हुन्छ । यसमा प्रवेश गरेदेखी कामबाट अवकाश नपाउन्जेलसम्मको छुट्टै प्रक्रिया रहेको छ ।’ कर्मचारीतन्त्र सरकारको काम सहज बनाउने एउटा स्थायी संरचना रहेको उनले बताए । उनी भन्छन्, ‘कर्मचारीतन्त्र राष्ट्रको मेरुदण्ड पनि हो ।
कर्मचारीतन्त्र मजबुत र इमान्दार भयो भने राष्ट्रको प्रगति छिटो हुन्छ ।’ उनी निजामती सेवामा आफू सन्तुष्ट रहेको बताउँदै मन्छेको स्वभावले सन्तुष्टि निर्धारण गर्ने कुरा जिकिर गर्छन् । उनी भन्छन्, ‘कर्मचारीतन्त्रमा चुनौती हुने भएकाले पनि मलाई मनपर्छ ।’
कानुनी प्रक्रिया र व्यवहारिक जटिलता फरक कुरा हुन् । तर, कर्मचारीले यी दुवै कुराको समायोजन गर्नुपर्ने हुन्छ । कानुनको परिपालना सँगसँगै व्यवहारिक जटिलताको गाँठो फुकाउनु कर्मचारीतन्त्रको सबैभन्दा ठुलो चुनौती रहेको उनी बताउँछन् । कतिपय कुराहरू कर्मचारीतन्त्रका सीमा बाहिर छन् । कानुनको दायरमा बसेर काम गर्न त्यति सहज नरहेको उनले उल्लेख गरे । कानुनी जटिलताका कारणले पनि यो समस्या आएको उनको बुझाई छ ।