दाङ । सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएका एकैघरका बुवाछोराको एकै चितामा अन्त्येष्टि गरिएको छ ।
आज सोमबार साँझ ६ बजेतिर ग्वारखोलाको चितामा अन्त्येष्टि गरिएको स्थानीय सागर रोकाले बताए ।
दुर्घटनामा मृत्यु भएका तुलसीपुर उपमहानगरपालिका–१८ ग्वारखोला टोलका बुवा ५० वर्षीय गणेश बुढा र छोरा २५ वर्षीय भक्तबहादुरको एउटै चितामा अन्त्येष्टि गरिएको छ ।
दुवै जनाको सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकैको सेतापैरामा दुर्घटना हुँदा मृत्यु भएको हो । आफ्नै गाडीमा तरकारी ल्याउँदै गरेको अवस्थामा सोमबार बिहान साढे ६ बजेतिर जीप अनियन्त्रित भई पल्टिँदा घटनास्थलमै मृत्यु भएको थियो ।
छोराले गाडी चलाइरहेका थिए भने बुवा सोही गाडीमा सवार थिए । दुवै बुवाछोरा सल्यान, रोल्पा लगायतबाट तरकारी ल्याएर दाङसहित बुटवल, नारायणघट, बाँके लगायतका बजारमा बिक्री गर्दै आएका थिए । उनीहरू ५ वर्षदेखि यसरी काम गर्दै आएको वडाध्यक्ष माधव वलीले बताए ।
‘उहाँहरू लामो समयदेखि छोराले गाडी चलाउने र बुवासँगै हिँड्ने गर्नुहुन्थ्यो,’ वडाध्यक्ष वलीले भने, ‘रोल्पा, सल्यानबाट तरकारी ल्याएर बेच्ने गर्नुहुन्थ्यो ।’
रा१च १०२५ नम्बरको जीप साढे ३०० मिटर तल खस्दा टुक्राटुक्रा परेको थियो । सोही दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–२ निवासी ३५ वर्षीय नारायण योगी घाइते भएका थिए ।