वीरगन्ज । आर्थिक वर्ष ०८०/८१ का लागि वीरगन्ज महानगरपालिकाले आगामी तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको छ ।
वीरगन्ज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले नगरसभाको तेह्रौँ अधिवेशनमा आर्थिक वर्ष ०८०/८१ का लागि उक्त अनुमानित आय–व्यय बजेट प्रस्तुत गरेका हुन् ।
बुधबार नगरसभाको १२औँ अधिवेशनले चालू आर्थिक वर्षका लागि तीन अर्ब ३३ करोड ६३ लाख दुई हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । चालू आर्थिक ०८९/८० को भन्दा आगामी आर्थिक वर्षको झन्डै १२ करोड ३२ लाख कम बजेट आएको छ ।
कुल बजेटमध्ये चालूतर्फ दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार रुपैयाँ अर्थात् ७७ प्रतिशत र पुँजीगत तर्फ ६८ करोड ८७ लाख १५ हजार रुपैयाँ अर्थात् २२ प्रतिशत बजेट विनियोजन गरिएको छ । यस्तै, वित्तीय व्यवस्थातर्फ तीन करोड ६३ लाख २४ हजार रुपैयाँ अर्थात् एक प्रतिशत बजेट छुट्याइएको छ ।
प्रस्तुत भएको बजेटमा आगामी वर्ष शिक्षा क्षेत्र सुधारतर्फ १२ करोड २० लाख, खानेपानी तथा सरसफाइ क्षेत्रमा १२ करोड रुपैयाँ विनियोजन गरेको छ।
वीरगन्ज महानगरपालिकाले संघीय सरकारको वित्तीय समानीकरणबाट ४२ करोड ८८ लाख रुपैयाँ, राजस्व बाँडफाँट २१ करोड १२ लाख रुपैयाँ, सशर्त अनुदान ७५ करोड १६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ।
वीरगन्ज महानगरपालिकाले संघीय सरकारको वित्तीय हस्तान्तरणबाट एक अर्ब ३३ करोड २१ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट २५ करोड २४ लाख ७० हजार रुपैयाँ प्राप्त हुने अनुमान छ । प्रदेश वित्तीय हस्तान्तरणबाट चार करोड ४५ लाख ९५ हजार र प्रदेश राजस्व बाँडफाँडबाट दुई करोड ८७ लाख रुपैयाँ र आन्तरिक राजस्वबाट एक अर्ब २० करोड ४४ लाख ३० हजारको अनुमान गरिएको छ ।
महानगरले आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवं विकेन्द्रित रूपबाट उपलब्ध गराउन विकेन्द्रित स्वास्थ्य सेवाका लागि तीन करोड ७५ लाख, यातायात पूर्वाधार क्षेत्रका लागि ५९ करोड, स्वयंसेवक शिक्षक कार्यक्रमका लागि चार करोड ७५ लाख, खेलकुद क्षेत्रका लागि एक करोड रुपैयाँ छुट्याएको छ भने लामखुट्टेमुक्त महानगर अभियानका लागि लामखुट्टेको लार्भा नियन्त्रण, वासस्थान नष्ट गर्न, औषधी छर्किने अभियानका लागि ३५ लाख रुपैयाँ विनियोजन भएको छ ।