काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदमा डेब्यु गरेको नेपाल सबै खेलमा पराजित भएको छ ।
रग्बी सेभेन्समा प्रतिस्पर्धा गरेको नेपालको पुरुष टोली सबै खेलमा पराजित हुँदै अन्तिम स्थानमा रहेको हो ।
आज (मंगलबार) भएको ९-१३ औं स्थान निर्धारणको लागि भएको अन्तिम खेलमा पनि नेपाल पराजित भयो । हान्झाउ नर्मल युनिभर्सिटी कान्क्विन एथ्लेटिक्स फिल्डमा भएको खेलमा अन्तिम नेपाल ओसिए इन्डेपेन्डेन्ट एथ्लेटक टिमसँग ६८-० अन्तरले पराजित भयो ।
प्रतियोगितामा नेपालले बेहोरेको यो सबैभन्दा ठूलो हारसमेत हो । यससहित नेपालले खेलेको सबै ६ खेल हारेको हो । ६ खेल खेल्दा नेपालले समूह चरणमा यूएईविरुद्ध मात्र स्कोर गर्न सफल भएको थियो । उक्त खेलमा नेपाल ५५-७ ले पराजित भएको थियो ।
समूह डी मा नेपाल त्यसपछि चीनसँग ६५-० र अफगानिस्तानसँग ४१-० ले पराजित भयो । समूह चरणमा तीनवटै खेलमा पराजित समूह चरणबाट बाहिरिएपछि ९ देखि १३औं स्थानसम्मका लागि अन्य तीन खेल खेलेको थियो । जसमा फिलिपिन्ससँग ५५-० र थाइल्याण्डसँग ३६-० ले पराजित भयो ।
एसियाडमा चौथो दिनको खेल चलिरहँदा नेपालको प्रदर्शन निराशाजनक रहेको छ । अहिलेसम्म केही खेलका खेलाडीले एक खेल जित्ने बाहेक नेपालको कुनै उपलब्धि भएको छैन ।
नेपालले पदकको आशा गरेको तेक्वान्दो र बक्सिङमा पनि त्यस अनुसारको प्रदर्शन देखिएको छैन । रग्बी सहित केही खेललले नेपालबाट पहिलो पटक एसियन गेम्समा सहभागिता जनाएका छन् ।
नेपालले प्रतिस्पर्धा गरेको पुरुष भलिबल, सुटिङ, साइक्लिङ, रग्बी र जुडोमा चुनौती समाप्त भइसकेको छ ।