काठमाडौं । डेंगु देशव्यापी रूपमा फैलदा सर्वत्र त्रास बढेको छ । पछिल्ला दिनमा डेंगुका कारण मानिसहहरुले ज्यान गुमाउने क्रम वृद्धिसँगै सर्वत्र त्रास बढेको हो ।
पछिल्ला केही दिन यता डेंगुका कारण तनहुँमा ३ जना र पाल्पामा एक जनाको मृत्यु भएको छ । यसको प्रकोप देशव्यापी रूपमा फैलिरहेको चिकित्सकहरूले बताएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यही २४ सेप्टेम्बरमा जारी गरेको बुलेटिनअनुसार नेपालमा डेंगुका कारण १५ जनाको मृत्यु भएको छ भने २९ हजार ४ सय ६८ जना डेंगुबाट संक्रमित भएका छन् । नेपालको ७६ जिल्लामा डेंगु फैलिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
मनसुन सकिँदै गएसँगै काठमाडौंको टेकु, स्वयम्भू, सीतापाइला, बालाजु, चाबहिल, कलंकीलगायतका क्षेत्रमा डेंगु बढ्दो छ । सरकारले भने डेँगु नियन्त्रणका लागि प्रभावकारी काम गर्न सकेको छैन । काठमाडौं महानगरपालिकाले पनि प्रचार गरेअनुसार डेंगु नियन्त्रणका लागि खासै काम गर्न नसकेको विज्ञहरूको ठम्याइ छ ।
यसैगरी देशभरमा विभिन्न स्थानीय तहहरू पनि आफ्नो क्षेत्रमा बढेको डेंगु नियन्त्रण गर्न असफल देखिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका सरुवारोग विशेषज्ञ डा।शेरबहादुर पुन भन्छन्– ‘डेंगुको संक्रमण असार साउनमा धरानमा देखिएजस्तो अवस्था अहिले छैन तर जोखिम भने कम भएको छैन र डेंगुको संक्रमण काठमाडौंमा देखिरहेको छ ।
’उनका अनुसार काठमाडौंका टेकु, त्रिपुरेश्वर, स्वयम्भू, बालाजुमा छिटपुट प्रभाव परे पनि तुलनात्मक रूपमा पहिला जस्तो छैन । मनसुनसँग डेंगुको संक्रमण देशव्यापी रूपमा फैलिरहेको छ ।
काठमाडौंबाहेक, चितवन, वुटवलमा मनसुन सकिनासाथै देखिएको छ । स्थानीय लामखुट्टे वृद्धिविकास भएका ठाउँमा डेंगु संक्रमितको संख्या देखिएका छन् । डेंगु बेमौसमी पानी पर्दा पनि फैलन सक्छ । यही अवस्था रही रहेमा तिहारपछिबाट विस्तारै आफैं हटेर जाने तर निर्मूल भने नहुने पुनले बताए । यो नेपाल समाचारपत्र दैनिकमा आज प्रकासित समाचार हो ।