काठमाडौं । चीनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी भएको छ ।
मंगोलियासँग भएको खेलमा नेपालले २ सय ७३ रनको विशाल अन्तरले जीत हात पारेको हो। नेपालले प्रस्तुत गरेको ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया ४१ रनमा समेटिएको छ ।
मंगोलियाका दावासुरेन जामयान्सुरेनले १० रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंकको स्कार छुन सकेनन् ।
मगोलियाका ५ खेलाडी शुन्य रनमा आउट भएका थिए भने तीन खेलाडीले मात्र १ रन जोड्न सकेका थिए ।
मंगोलियाका कुनै पनि खेलाडीले नेपाली बलर सामु टिक्न सकेनन् । मंगोलियालाई सस्तैमा समेट्न करन केसी, अभिनाश बोहरा, सन्दीप लामिछानेले समान दुई तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान एक विकेट लिएका छन् ।
यसअघि मंगोलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतीमा ३ सय १४ रन बनाएको थियो ।
नेपालका लागि कुशल मल्लले नकआउट १ सय ३७ रनको इनिङ्स खेले । उनले ५० बलमा ८ चौका र १२ छक्काको मदतले शानदार सतकीय पाली खेलेका हुन् । रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले समेत अर्धशतकीय इनिङ्स खेले ।
कप्तान पौडेलले २७ बलमा २ चौका र ६ छक्काको मदतले ६१ रन बनाउदा दिपेन्द्रले १० बलमै नटआउट अर्धशतक प्रहार गरे । दिपेन्द्रले जम्मा १० बल खेल्दै ८ छक्काको मदतले सो रन बनाएका हुन् । कुशल भुर्तेल १९ र आसिफ शेख १६ रनमा आउट भएका थिए ।
नेपाल प्रतियोगिताको समूह एमा रहेको छ । नेपाल रहेको समूहमा मंगोलिया र माल्दिभ्स छन् । समूह विजेता टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछ ।
भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश टेष्ट राष्ट्रको रुपमा सिधै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरिसकेका छन् ।