काठमाडौं । धुर्कोट गाउँपालिका ५ निवासी रमेश भण्डारी लोक सेवा आयोगले विभिन्न पदका लागि एक वर्षमा लिएका १० परीक्षामा उत्तीर्ण भएका छन् ।
एकै वर्षमा भण्डारीले लोक सेवा आयोगले लिएका विभिन्न पदका १० परीक्षा उत्तीर्ण गरेका हुन् । उनले गण्डकी प्रदेश स्थानीय पाचौं तह (प्रशासनंलेखा), संघको नायब सुब्बा (प्रशासन समूह), संघ नायब सुब्बा (लेखा तथा लेखापरीक्षण समूह), कृषि विकास बैंकको पाचौ तह सहायक, गण्डकी प्रदेश चौथो तह, विद्युत प्राधिकरण पाचौं तह (लेखा समूह), नेपाल विद्युत प्राधिकरण चौथो तह उत्तीर्ण गरेका हुन ।यस्तै, भण्डारीले नेपाल टेलिकम छैटौ तह सहायक व्यापार अधिकृत, नेपाल टेलिकम चौथो तह उत्तीर्ण गरेका छन् ।
भण्डारी हालै मात्र शाखा अधिकृत (लेखा समूह)मा उत्तीर्ण भई सिफारिससमेत भइसकेका छन् । भण्डारीले यी बाहेक भन्सार विभागले करिब २२ वर्षपछि विज्ञापन गरेको भन्सार एजेन्टको लाइसेन्सको परीक्षा पनि उत्तीर्ण गरेका थिए ।
जसमा ६६० जनाका लागि १० हजारभन्दा बढीको प्रतिस्पर्धा भएको थियो । तर, निजामती सेवा प्रवेश गरेपछि उनले लाइसेन्स खारेज गराएका छन् ।
तयारी गरेको छोटो समयमै निजामती सेवा, बैंकिङ सेवा, सार्वजनिक संस्थान, प्रदेश र स्थानीय सेवा समेतमा नाम निकाल्न सफल हुँदै सबै क्षेत्र र तहमा नाम निकाल्ने अनुभव बटुल्ने सौभाग्य मिलेको उनले बताए ।
उनी भन्छन्, यो नतिजाले अझै जिम्मेवारी थपिएको छ, राष्ट्र र नागरिकले चाहेअनुसार सेवा प्रदान गर्ने भूमिका निर्वाह गर्न निरन्तर प्रयास गर्नेछु ।