चीन । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हुम्लाको बाटो भएर हिन्दूहरूको पवित्र तीर्थस्थल कैलाश पर्वत र मानसरोवर तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर ताल क्षेत्रको स्थलगत अवलोकनका लागि पुगेका थिए ।
भ्रमणपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले हिन्दू तीर्थयात्रीहरूको पवित्रस्थलको दर्शन एवं अवलोकनका लागि नेपालको बाटो भएर आउन सकिने गरी व्यवस्था मिलाइने बताए ।
उनले नेपाली, भारतीय र अन्य देशका पर्यटक एवं तीर्थयात्रीले समेत हुम्लाको बाटो भएर सजिलै भ्रमण गर्न पाउने व्यवस्थाका लागि चीन सरकारसँग सैद्धान्तिक सहमति भइसकेको जानकारी पनि दिए ।
हिन्दू धर्मग्रन्थहरूमा उल्लेख भएअनुसार कैलाश पर्वतलाई देवहरूका पनि देव, महादेव रहने स्थान एवं अन्य देवी–देवताहरूले पनि स्पर्श गरेको पवित्र भूमि मानिन्छ । त्यसैले कैलाश पर्वत र यस क्षेत्रलाई हिन्दू धर्मावलम्बीहरूले पवित्र तीर्थस्थलका रूपमा लिने गरेका छन् ।
चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिम भाग ङारीबाट कैलाश मानसरोवर क्षेत्र करीब २५० किलोमिटर टाढा रहेको छ ।
नेपालतर्फबाट भने नेपालको हुम्ला सदरमुकाम सिमकोटबाट १६० किलोमिटर मात्रै टाढा रहेको छ । नेपाल तर्फबाट सिमकोटको बाटो भएर कैलाश मानसरोवरको यात्रा गर्दा ट्रयाक मात्रै खोलिएको सडक रहेकाले यात्रा असहज हुने गरेको छ ।
कैलाश पर्वतबाट केही तल तिब्बती भागमै मानसरोवर ताल रहेको छ । मानसरोवर ताल पनि हिन्दूहरूका लागि पवित्र तीर्थस्थल हो । कैलाशपति महादेव तथा देवी–देवताहरूले मानसरोवर तालमा स्नान गर्ने गरेको वैदिक सनातन मान्यता पनि पाइन्छ । यस तालमा अहिले नुहाउन भने प्रतिबन्ध गरिएको छ ।
चीनको तिब्बततर्फबाट भन्दा नेपालको हुम्ला तर्फबाट कैलाश मानसरोवरको यात्रा गर्न नेपाली र भारतीय पर्यटकहरूलाई सहज हुने देखिएको छ । खर्च, यात्रा गर्नुपर्ने दूरी तथा भिसा लगायत थुप्रै दृष्टिकोणबाट हुम्लाको बाटो भएर यात्रा गर्दा सहज हुनेछ ।
ठूलो जनसंख्या भएको भारतका बहुसंख्यक हिन्दू धर्मावलम्बीहरूलाई पनि निकै सहज हुने र नेपालका लागि पर्यटकीय हिसाबले राम्रो हुनेछ ।
प्रधानमन्त्री दाहाल आज बिहीबारै ल्हासाबाट तिब्बत एयरलाइन्सको उडानमार्फत आएका हुन् । उनी भोलि बिहान चीनको छन्दु जाँदैछन् । उनका साथमा भ्रमण दलका सदस्यहरू परराष्ट्रमन्त्री एनपी साउँद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्यसचिव डा. बैकुण्ठ अर्याल लगायत सचिवहरू र भ्रमण दलका अन्य सदस्य छन् ।