काठमाडौं । अंग्रेजी वर्ष सन् २०२३ को ९ महिनामा करीब ८ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार वर्षको जनवरीदेखि सेप्टेम्बर महिनासम्म हवाई मार्ग भएर ७ लाख ८२ हजार ३७२ पर्यटक भित्रिएका छन् ।
पछिल्लो सेप्टेम्बर महिनामा मात्रै ९१ हजार १२ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्ष सन् २०२२ को सोही अवधिमा ५८ हजार ३१४ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ मा ९२ हजार ६०४ पर्यटक नेपाल आएका थिए ।
नेपालमा पर्यटकीय सिजन सुरु भएकाले अबका दिनमा विदेशी पर्यटक आगमन बढ्ने बोर्डको विश्वास छ । बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला महिनामा निरन्तर पर्यटक आगमन वृद्धि भइरहेकाले लक्ष्यमा पुग्न सहज हुने बताए ।
पछिल्लो पर्यटक आँकडा कोभिड–१९ पूर्वको पर्यटक आगमनको ९० दशमलव २८ प्रतिशत हो । सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।
सेप्टेम्बर महिनामा पनि सबैभन्दा बढी भारतबाट २८ हजार ६४२, चीनबाट ८ हजार १७४, अमेरिकाबाट ७ हजार ३६४, बंगलादेशबाट ३ हजार ७१६ पर्यटक नेपाल आएका छन् ।
अस्टे«लियाबाट ३ हजार ६८५, संयुक्त अधिराज्यबाट ३ हजार ६४०, श्रीलंकाबाट ३ हजार ११, जर्मनीबाट २ हजार ८५२, दक्षिण कोरियाबाट २ हजार १८ र इजरायलबाट १ हजार ७३४ पर्यटक नेपाल भित्रिएका छन् ।