काठमाडौं । पेय पदार्थमा अखाद्य वस्तु भेटिएपछि काठमाडौं महानगरपालिकाले वडा नम्बर ३२ पेप्सीकोलामा रहेको वरुण वेभरेजलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
कामपाले आज आईतबार गरेको बजार अनुगमनका क्रममा ढुसी परेको पेयपदार्थ (स्लाइस) फेला परेपछि उत्पादक कम्पनीलाई कारबाही स्वरुप २ लाख रुपैयाँ जरिवाना गरिएको कामपा कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले जानकारी दिए ।
प्रमुख झाका अनुसार अनुगमनको क्रममा दोषी ठहर र सञ्चालकसँग कुरा गर्दा स्पष्ट जवाफ नदिएपछि बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ९ अनुसार कारबाही गरिएको हो । जरिनावा रकम आगामी १ हप्ताभित्र बैंक खातामा जम्मा गर्न कामपाले आग्रह गरेको छ ।
तोकिएको समय सीमाभित्र जरिवाना रकम नबुझाए सोही ऐनको दफा ३० को उपदफा ३ बमोजिम थप कारबाही हुने कामपाले स्पष्ट पारेको छ ।
अनुगमन टोलीले कम्पनीलाई बजारमा लगिएका सामग्री फिर्ता लैजाने व्यवस्था गर्न, ब्याकिङपछि रसायनिक, भौतिक दुवैतर्फ गुणस्तर कायम गर्न, एकपटक बजार लगिएका सामग्री पुनःउत्पादन भए पुनःपरीक्षण गरी निर्देशन दिएको छ ।
चालू आर्थिक वर्षमा कामपाले स्वास्थ्य क्षेत्रका लागि ९२ करोड ६६ लाख ४४ हजार रकम विनियोजन गरेको छ । जसमा व्यक्तिगत तथा संस्थागत भान्साघर स्वस्थ्यकर बनाइ राख्नका लागि ३ करोड ५० लाख रहेको छ ।
बजारलाई थप व्यवस्थित गर्न कामपाले गत साउन महिनाभित्र अनुगमनका सूचक तयार गरी भदौ १ गतेदेखि नियमित अनुगमन गर्दै आएको छ । विगतमा वर्षहरूमा कामपाले चाडवाड आउनै लाग्दा मात्रै अनुगमनको काम गर्ने गरेको थियो । मौसमी रूपमा गरिएको अनुगमनको कामले प्रभावकारी नभएको र त्यसले उपभोक्तालाई राहत नमिलेको भन्दै अहिले कामपाले चाडवाड सुरू हुनु केही महिना अघिदेखि नै अनुगमनको कामलाई निरन्तरता दिइरहेको छ ।
उपप्रमुखको संयोजकत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिले पेश गरेर नगर सभाबाट पारित भएका कार्यक्रमको अनुगमन उपप्रमुखकै संयोजकत्वमा रहेको अनुगमन तथा सुपरीवेक्षण समितिले गर्ने व्यवस्था रहेको छ ।