काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु कुमार मरासिनीसहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरु विरुद्ध २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
६ वर्ष अगाडि नेसनल पेमेन्ट गेटवे खरिद गरेर भ्रष्टाचार गरिएको भन्दै उनीहरुविरुद्ध मुद्दा दायर भएको हो। शर्मा तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव पनि हुन् ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष संजय शर्मा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन उपसचिव तथा हाल नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हाल उपनिर्देशक सफल श्रेष्ठ, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेल भन्ने रमेश पोखरेललाई पनि प्रतिवादी बनाइएको छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कम्प्युटर इन्जिनियर रामशरण गायकविरुद्ध पनि अभियोग दायर भएको छ ।
हेर्नुस् अख्तियारको आरोपपत्र