काठमाडौं । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको जुम्ला विमानस्थललाई थप विस्तार गरिने भएको छ ।
सरकारले बजेट विनियोजित गरेपछि विमानस्थल विस्तारको काम अगाडि बढेको जुम्लाका प्रतिनिधिसभा सदस्य छिरिङ ल्यामु लामा तामाङले जानकारी दिए ।
विमानस्थल विस्तारका लागि बजेट विनियोजन भएकाले अर्थ मन्त्रालयले नागरिक उड्डयन कार्यालय जुम्लालाई आवश्यक समन्वयका लागि निर्देशन दिएसँगै विमानस्थल विस्तारको बाटो खुलेको उनले बताए । मन्त्रालयले विमानस्थल विस्तारका लागि रू चार करोड बजेट विनियोजन गरेको छ ।
गत आर्थिक वर्ष रू एक करोड बजेट विनियोजन गरिएको थियो । उक्त बजेट खर्च नभएर फ्रिज भएको जिल्लास्थित उड्डयन कार्यालयले जनाएको छ ।
लामो समयदेखि विमानस्थल विस्तारको बहस चले पनि काम हुन सकेको थिएन । चालु आव २०८०/८१ मा अर्थ मन्त्रालयले रू चार करोड ४२ लाख ४७ हजार सात सय ८७ विनियोजन गरेसंँगै काम अगाडि बढाउन सकिने तामाङको भनाइ थियो ।
जुम्ला विमानस्थल हाल छ सय ७० मिटर लम्बाइ, २० मिटर चौडाइसम्म छ । उड्डयन प्राधिकरणले विमानस्थल विस्तारका लागि बजेट विनियोजन भइसकेकाले आवश्यक समन्वय गर्न जिल्लास्थित उड्डयन कार्यालयलाई निर्देशन दिएको छ ।
तत्काल जग्गा अधिग्रहणका लागि बजेट विनियोजन नभए पनि चाँडै केही रकम विनियोजन हुने आशामा रहेको कार्यालय प्रमुख अधिकारीले बताए।
लामो समयपछि विमानस्थल विस्तारको बाटो खुलेकाले यसपछि सहजरुपमा हवाई सेवा पाउनेमा स्थानीयवासी विश्वस्त छन् । नियमित हवाइ सेवा सञ्चालन भए कर्णालीका नागरिकलाई सहज हुने यहाँका सरोकारवाला बताउँछन् ।