काठमाडौं । सङ्घीय संसद प्रतिनिधिसभाको आजको बैठकमा बोल्नुहुने सांसदहरुले उपभोक्ता बजारमा देखिएको मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव, न्यून गुणस्तरलगायतका समस्या समाधानका लागि संसदमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।
आजको बैठकमा शून्य समयमा बोल्नुहुँदै सांसद उदय शमशेर जबराले चाडबाडको समयमा उपभोक्ता बजारमा मूल्यवृद्धि देखिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण र नियमनका लागि सरकारले पहल गर्नुपर्ने बताए ।
“पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि सरकारले फिर्ता लिएको छ । त्यो सकारात्मक छ । तर पछिल्लो तीन महिनामा महङ्गी अत्यन्त बढेको छ”, उनले भने, “चाडबाडको समयमा बजारमा गोलभेडा, चिनी, चामलजस्ता उपभोग्यवस्तुमा मूल्यवृद्धि भएको छ । काठमाडौँ उपत्यका लगायतका बजारमा कालोबजारी र कृत्रिम अभावका समस्या देखिएका छन् ।” बजार अनुगमन प्रभावकारी बनाउन उहाँले संसदमार्फत् सरकारको ध्यानाकर्षण गराए ।
सांसद उर्मिला माझीले पनि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ता गरेर जनतामा राहतको महसुस गराएको बताइन् । सबै उपभोग्य वस्तुको मूल्य बढेको उल्लेख गर्दै उनले यसको मुख्य कारण कालोबजारी र कमिसनतन्त्र रहेको बताइन् । बजार अनुगमनका लागि उच्चस्तरीय संयन्त्र बनाउपर्ने उनको माग छ ।
सांसद गगनकुमार थापाले चिकित्सक माथि भइरहेको आक्रमणको निन्दा गर्दै स्वास्थ्य क्षेत्र सुधारका लागि सरकार गम्भीर हुनुपर्ने बताए । आन्दोलनरत चिकित्सक र सरकारबीच सम्झौता भएको २४ घण्टा नबित्दै चिकित्सकमाथि फेरि आक्रमण हुनु निन्दनीय रहेको बताउदैँ थापाले उहाँहरुका जायज माग र स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारले गम्भीर भएर तत्काल कानूनी तथा संरचनागत सुधार गर्नुपर्नेमा जोड दिए ।
सांसद किरणकुमार साहले चिकित्सकमाथि भइरहेको आक्रमण र विभिन्न स्थानमा घरेलु हिंसा भइरहँदा सुरक्षा प्रशासनले प्रभावकारी भूमिका खेल्न नसकेको बताए। सांसद गोमा लाभ ९सापकोटा०ले खाद्य वस्तुको मूल्यवृद्धि, कालोबजारी र मिसावटले उपभोक्ता पीडित हुनुपरेको बताइन् । अहिले मधेश प्रदेशमा दैनिक आठ घण्टासम्म अघोषित लोडसेडिङ भइरहेको उनको भनाइ छ । सांसद जुलीकुमारी महतो महासेठले मूल्यवृद्धि र कालोबजारी बढिरहँदा पनि अनुगमनको प्रभावकारिता देखिन नसकेको बताए ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद एकनाथ ढकालले सिंहदरवार क्षेत्रमा रहेको नेपालको पहिलो संसद भवन जीर्ण अवस्थामा रहेकाले त्यसको पुनःनिर्माणका लागि माग गरे । सिंहदरवार क्षेत्रभित्रकै निर्माणाधीन संसद भवन तोकिएको समयभित्र निर्माण सम्पन्न हुन नसकेकोबारे पनि उनले संसदमार्फत् सरकारको ध्यानाकर्षण गराए ।
सांसद ऐनबहादुर शाहीले केही समयअघि मुगुको गमगढीमा आगलागीबाट आठ घर नष्ट भएकोमा पीडितलाई राहतका लागि सरकारले पहल गर्नुपर्ने बताए । सांसद गणेश पराजुलीले उपत्यकाभित्रका सडक निकै साँघुरा भएकाले त्यसलाई विस्तार तथा मर्मतसम्भार गर्नुपर्नेमा जोड दिए । उपत्यका भित्रका बाटो विस्तारलाई जतिसक्दो चाँडो पूर्णता दिनुपर्ने उनको माग छ ।
अरनिको राजमार्ग निर्माण र विस्तारका काममा ढिलाइ भइरहेको विषय सांसद गोकुल बाँस्कोटाले आजको बैठकमा उठाए । त्यो राजमार्ग विस्तार र निर्माणमा ढिलाइ हुँदा त्यहाँ दुर्घटना बढेको उनको भनाइ छ ।
सांसद छिरिङ डम्डुल लामा भोटेले बाढी र पहिरोका कारण हुम्लाको रिप गाउँ निकै नै जोखिम अवस्थामा रहेकाले स्थानान्तरणका लागि सरकारको ध्यानाकर्षण गराए ।
सांसद अशोककुमार चौधरीले तराई क्षेत्रका कृषकले धानको समर्थन मूल्य पाउन नसकेको बताए । सरकारले धानमा तोकेको समर्थन मूल्य किसानले पाउनुपर्ने र केरा खेतीमा देखिएको रोग नियन्त्रणका लागि पहल हुनुपर्ने उनको भनाइ छ ।
सांसद कालुराम राईले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषय संसदमा उठाए । अर्का सांसद सांसद गीता बस्नेतले मुलुकको शान्ति सुरक्षा कमजोर हुँदै गएको र महिलाले असुरक्षित महुुस गरिरहेको धारणा राखे ।