धनगढी । बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्किँदा ५ जना घाइते भएका छन् ।
बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको जानकारी दिए । उनले अहिलेसम्म मानवीय क्षति भएको जानकारी नआएको बताए ।
पाण्डेका अनुसार भूकम्पले पुर्याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ र घाइतेको अवस्था समान्य रहेको छ ।
उनले भने, ‘बझाङ सदरमुकाम र आसपासमा केही घर चर्किएको र अन्य कतिपय घर भत्किएको जानकारी आएको छ, विस्तृत विवरण आउन बाँकी छ ।’
सदरमुकाम चैनपुरमा मोबाइल ग्यालरीको पसल सञ्चालनमा रहेको १ घर, निर्वाचन कार्यालयको भवनसहित कतिपय सरकारी तथा व्यक्तिगत घर चर्किएका छन् । बझाङ मष्टा गाउँपालिका–१ नम्बर वडा कार्यालय भवन भत्किएको छ ।
भूकम्पको झड्का महसूस भएपछि बझाङ जिल्ला अस्पताल भवनको बाहिर राखेर बिरामीलाई उपचार सेवा दिइएको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बैतडीमा विद्यालयबाट घरतर्फ गइरहेका एक व्यक्तिमाथि ढुंगा खसेको र वन क्षेत्रमा घाँस काटिरहेको अवस्थामा गएको पहिरोका कारण अर्का एक व्यक्ति घाइते भएका जानकारी दिए । उनले भने, ‘घाइतेको अवस्था सामान्य छ, मानवीय थप क्षति भएको जानकारी आइसकेको छैन ।’
प्रहरी नायब महानिरीक्षक बोहराले अछामको एक वडा कार्यालयको भवन भत्किएको जानकारी आएको बताए । डोटीमा पनि केही घर चर्किएका छन् । दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको ठूलो धक्का महसूस गरिएको थियो । त्यसपछि पनि पटक–पटक परकम्प गएको छ । धनगढीमा पनि भूकम्पको धक्का महसूस भएपछि घर तथा कार्यालयभित्र बसेका धेरै मानिस घर बाहिर निक्किएका थिए ।
धनगढी उपमहानगरपालिकाको स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रले सूचना सार्वजनिक गर्दै भूकम्पको थप परकम्प आउनसक्ने भएकाले नागरिकलाई सुरक्षित रहन सचेत गराएको छ । सुर्खेतस्थित भूकम्प मापन केन्द्रले चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ र तलकोट केन्द्रविन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको छ ।