सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशको शिक्षा क्षेत्र सुधारका लागि सिकाइ केन्द्र बनाउने बताएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित प्लान इन्टरनेसनल नेपालको ५ वर्षे राष्ट्रिय रणनीति सार्वजनिकीकरण कार्यक्रममा मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री शर्माले कर्णाली प्रदेश सरकारले शिक्षालाई प्रभावकारी बनाउन सिकाइ केन्द्र निर्माण गर्ने बताए ।
उनले भने, ‘प्रविधि, श्रम उत्पादन र नैतिकताका क्षेत्रलाई सुदृढ, विस्तारको काम शिक्षण सिकाइ केन्द्रले गर्नेछ । केन्द्रबाट शिक्षक विद्यार्थी र पाठ्यक्रम निर्माणका लागि सहयोग हुनेछ ।’
शैक्षिक सुधारका लागि भने संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो । शैक्षिक गतिविधि एक्लाएक्लैभन्दा तीनै तहको सरकार र सरोकारवालाबीचमा सहकार्यबाट सम्भव रहेको बताउँदै उनले कर्णालीका जनताको सुख र खुशीलाई केन्द्रमा राखेर सरकारले आफ्ना गतिविधि सञ्चालन गरिरहेको स्पष्ट पारे ।
समुदायस्तरबाट पनि शिक्षा क्षेत्रमा योगदान हुने भएकाले पहिलो पाठशाला घर परिवारबाटै सिकाइ सुधारका अभ्यास आवश्यक रहेको जनाएका उनले कर्णाली प्रदेश सरकारले १० जिल्लाका १/१ वटा विद्यालयलाई नमूना विद्यालय बनाउने तयारी गरेको र त्यसका लागि कार्यविधि निर्माणको काम समेत भएको बताए ।
कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेल, आन्तरिक तथा कानूनमन्त्री कृष्णबहादुर जिसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विक, कर्णाली प्रदेशका प्रमुख सचिव चूडामणि पौडेल लगायतको उपस्थिति रहेको थियो ।
प्लान इन्टरनेसनल नेपाल कर्णालीका १० वटै जिल्लामा कार्यक्रम विस्तार समेत गरेको छ । प्लान इन्टरनेसनल नेपालका अध्यक्ष राम किसनले कर्णालीका १० वटै जिल्लामा कार्यक्रम विस्तार गरिएको जानकारी दिए ।