सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णालीका भ्रष्टाचार सम्बन्धी ४४ मुद्दालाई विशेष अदालतमा दर्ता गरेको छ ।
आयोगको कार्यालय सुर्खेतका अनुसार ४४ मुद्दामा कर्णालीका १३० सरकारी कर्मचारीसहित २२७ जनालाई विपक्षी बनाइएको छ ।
मुद्दा खेप्नेमा १७ जना जनप्रतिनिधि, १३० जना कर्मचारी, ७२ जना उपभोक्ता समितिका पदाधिकारी र ८ जना अन्य व्यक्ति रहेका छन् ।
कर्णालीबाट दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै गैरकानूनी लाभ तथा हानिमा २५ मुद्दा परेका छन् । सार्वजनिक सम्पत्ति हानि नोक्सानीमा ९, शैक्षिक प्रमाणपत्र नक्कलीमा १, घुस–रिसवतमा १, परीक्षाको परिणाम फेरबदलमा १, गलत प्रतिवेदन तयारमा १ र बाँकी अन्य गरी ४४ वटा मुद्दा विशेष अदालतमा दायर भएका जनाइएको छ ।
कर्णालीअन्तर्गत मुगु जिल्लाबाट सबैभन्दा धेरै १२ वटा मुद्दा अदालत पुगेका छन् । सुर्खेतबाट ७, कालिकोटबाट ६, सल्यानबाट ५, हुम्लाबाट ४, डोल्पाबाट ३, जुम्लाबाट ३, दैलेखबाट २, रुकुम पश्चिम र जाजरकोटबाट १–१ मुद्दा गरी ४४ वटै मुद्दा परेका छन् ।