काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको तत्कालीन सराङकोट गाविस अध्यक्ष मोदनाथ रेग्मीसहित छजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।
तत्कालीन गाविस अध्यक्ष मोदनाथ रेग्मी र झपट बहादुर थापा, वडा सदस्य, गाविस सचिव, उपभोक्ता समितिका अध्यक्षसमेत गरी छजना उपर सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेकाे आरोपमा बिहीबार विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता भएकाे हाे ।
सराङकोटस्थित करिब ५/६ रोपनी सार्वजनिक जग्गा मिचेर नक्सा पास नगरी घर निर्माण गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनीहरू आरोपित पाइएका हुन् ।
सरकारी जग्गा निजी प्रयोगमा लगाएको देखिँदा गैरकानुनी लाभ र नेपाल सरकार/सार्वजनिक संस्थाको सम्पत्तिको हानीनोक्सानी दुरुपयोग गरेको पुष्टि भएको हुँदा उल्लिखित भ्रष्टाचारजन्य कसुरमा संलग्न देहायका प्रतिवादीहरू उपर सजाय र बिगोबमोजिमको जरिवाना तथा हानीनोक्सानी दुरुपयोग गरेको सम्पत्ति असुल उपर हुन मागदाबी पनि गरिएकाे छ ।
सरकारी जग्गा अनधिकृत तवरले बिक्री वितरण गरेको र तत्कालीन ग्यारजाती गाविसकै परिवर्तित नाम तत्कालीन सराङकोट गाविसका जिम्मेवार कर्मचारी तथा पदाधिकारीहरू समेतले उक्त कार्यको समर्थन जनाई अस्थाई बसोबासको प्रमाणको रूपमा दिल बहादुर गुरुङलाई प्रमाणपत्रसमेत प्रदान गरेकाे पाइएकाे छ ।
यसका साथै आवादी दर्ताका लागि सिफारिस गरेको र निज दिलबहादुर गुरूङले उक्त सरकारी जग्गा हो भनी जानीजानी व्यक्तिगत लाभ प्राप्त गर्ने नियतले सरकारी जग्गा हकभोग गरी व्यक्तिगत स्वामित्व (लालपूर्जा) प्राप्ति गर्न गाविसबाट सिफारिससमेत प्राप्त गरेकोसमेत देखिएको छ ।