काडमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले बिहीबार सभामुखको कार्यकक्ष सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटमा नेपाल-उत्तर कोरिया द्विपक्षीयसम्बन्ध विस्तार, संसदीय आदानप्रदान लगायतका विषयमा छलफल भएको छ ।
भेटमा सभामुख घिमिरेले दुवै देशबीच विभिन्न समयमा भएका संसदीय आदानप्रदान एवं भ्रमणको स्मरण गरेका थिए ।
‘विगतमा हाम्रा माननीयहरूले उत्तर कोरियाको भ्रमण गर्नुभएको थियो,’ उनले भने, 'कोरियाली संसद्मा उत्तर कोरिया-नेपाल संसदीय मैत्री समूह गठन भएको सुन्न पाउँदा खुसी लागेको छ ।'
उनले निकट दिनहरूमा नै नेपालले नेपाल-उत्तर कोरिया संसदीय मैत्री समूह गठन गर्ने जानकारी दिए ।
सभामुख घिमिरेले नेपालले कोरियाली प्रायद्वीपमा भएका घटनाक्रमलाई चासोका साथ नजिकबाट नियालिरहेको बताउँदै आफ्नो मुलुक कोरियाली शान्ति, एकता र स्थायित्वको पक्षमा रहेको उल्लेख गरे ।
उनले सांसदहरूमार्फत् दुई देशका जनताबीचको सम्बन्ध स्थापना गर्नुपर्नेमा जोड दिए ।
भेटमा नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले आफ्नो देशको सर्वोच्च जनसभा (संसद्)ले नागरिकका जनअधिकार र नागरिक स्वतन्त्रताको रक्षाका लागि कानुन निर्माण गर्दै गएको जानकारी गराएका थिए ।
उनले बालबालिकासम्बन्धी कानुन पारित भएसँगै निःशुल्क शिक्षाको अधिकार ग्यारेन्टी भएको जानकारी दिए ।
सन् १९७४ मा नेपाल र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशहरु बीचको सम्बन्ध मैत्रीपूर्ण रुपमा अगाडि बढिरहेको छ ।