काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अस्ट्रेलियाको सिड्नी, श्रीलंकाको कोलम्बो र दक्षिण कोरियाको सिओलमा सिधा हवाई उडान सञ्चालन गर्ने भएको छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले छिट्टै सिड्नी, कोलम्बो र सिओलमा उडान भर्ने गरी कार्ययोजना बनाइएको जानकारी दिए ।
नेपाल वायुसेवा निगम र निजी क्षेत्रका नेपाल चेम्बर अफ कमर्स लगायत विभिन्न ४ वटा संस्थाबीच आज बिहीबार समझदारीपत्र (एमओयू) हस्ताक्षर कार्यक्रममा अध्यक्ष अधिकारीले अस्ट्रेलिया उडान रोक्न केही पक्ष लागिपरेको भन्दै सबै प्रकारका दबाब र प्रभावका बीच सिड्नी सहितका गन्तव्यमा उडान विस्तार गरिने उल्लेख गरे ।
‘निगमले सिड्नीको उडानका लागि धेरै काम गरिसकेका छौं तर केही सिन्डिकेटधारी समूह निगमको जहाज सिड्नी जान नदिन प्रयास गरिरहेका छन्, विभिन्न दबाबलाई चिर्दै हामी लक्ष्यमा पुग्न सफल हुनेछौं,’ उनले भने ।
अध्यक्ष अधिकारीले निगमका अन्तर्राष्ट्रिय उडान गन्तव्य विस्तार गर्ने र भएका गन्तव्यमा उडान संख्या बढाएर लैजाने प्रयासमा रहेको बताए । उक्त प्रयोजनका निम्ति पनि जहाज खरिद गर्ने र जहाज लिजमा लिएर भए पनि सेवालाई प्रभावकारी बनाउने योजना रहेको उनले उल्लेख गरे ।
नेपालमा विदेशी पर्यटक भित्र्याउन निगमको भूमिका रहेको भन्दै अध्यक्ष अधिकारीले निगमको सेवालाई थप प्रभावकारी बनाउन सरकारले पनि निगमको व्यवस्थापकीय पक्षलाई ध्यान दिनुपर्ने खाँओ औंल्याए ।
राष्ट्रिय दायित्वलाई ध्यानमा दिएर दुर्गम भेगमा उडान गर्ने ३ वटा ट्वीनअटर जहाज खरिद प्रक्रियामा रहेको र यसले छिट्टै सार्थकता पाउने उनले विश्वास व्यक्त गरे । निगमका वाणिज्य विभाग निर्देशक टंकनिधि दाहालले जहाज थपेर गन्तव्य विस्तार गर्ने योजनामा रहेको बताए ।