काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुंगाको मोलुंग गाउँपालिकाकी उपाध्यक्ष हेमकुमारी तामाङ्गसहित ११ जना विरुदेध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।
हेम कुमारी तामाङ, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत गरी ११ जना उपर गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा बिहीबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएकाे हाे ।
सडक निर्माण योजनामा किर्ते गरी नक्कली फाइल खडा गरी अनियमितता गरेको भन्ने उजुरी आएपछि आयोगले अनुसन्धान सुरु गरेकाे थियाे ।
अनुसन्धानमा राष्ट्रिय पुन: निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ, (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार), ओखलढुंगाले निर्माण गरेको मेसिनरी वाल र सडक देखाइ उपभोक्ता समितिले निर्माण गरेको भनी गैरकानुनी लाभ प्राप्त गरेकाे आयोगले जनाएकाे छ ।
आयोगका अनुसार गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदनहरू तयार गरी/गराइ, स्वीकृत गरी रु.३,८२,०५०।- हानी पुर्याउन बदनियतपूर्वक भुक्तानीसमेत गरेको देखिएकाे छ ।