काठमाडौं । झापाको पूर्वी भेगमा पर्ने धुलाबारी स्थित धुलाबारी माध्यमिक विद्यालयको स्थापना विक्रम संवत् २००८ सालमा भएको हो । अधिकांश स्रोत साधन उपलब्ध रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीले सेवा सुविधा पाइरहेका छन् ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरू पढाइमा मात्र नभएर अन्य अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्रिय र प्रभावकारी रूपमा प्रस्तुत भएको पाइएको छ । फराकिलो खेल मैदान, प्रयोगशाला, स्मार्ट कक्षा, पुस्तकालय जस्ता सुविधा भएकाले विद्यार्थीले पढाइमा सहजता महसुस गरेका छन् ।
विद्यार्थीको चाप अत्यन्त धेरै भएकाले विद्यालयलाई सरकारले प्रदान गरेको शिक्षकको दरबन्दीले नपुगेर अभिभावकको सहयोगमा विद्यालयले थप शिक्षकको व्यवस्था गरेको छ । हाल विद्यालयमा ३ हजार ६४५ विद्यार्थी अध्ययनरत छन् ।
गुणस्तरीय शिक्षा, विद्यालयको वातावरण, सामुदायिक विद्यालयको शिक्षा प्रणाली, सामुदायिक विद्यालयका चुनौती, स्थानीय निकाय र समुदायको भूमिका, विद्यार्थी तथा अभिभावकको प्रतिक्रिया, नवीनतम् शिक्षा र प्रविधिमा विद्यार्थीको पहुँच लगायतका विषयमा केन्द्रित रहेर सह–प्रधानाध्यापक तेजप्रसाद चौलागाईंसँग व्यवस्था डटकमका रोशन भट्टराईले गरेको कुराकानीको सम्पादित अंश :
विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले अपनाएका नीति तथा कार्यक्रम के–कस्ता रहेका छन् ?
विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षा ऐन, नियमावली र पाठ्यक्रमले तोकिएका बमोजिम शिक्षण सिकाइ कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएको छ । विद्यार्थीको योग्यता र क्षमतालाई हेरेर अतिरिक्त कक्षा पनि सञ्चालनमा आएका छन् । विद्यार्थीको केस स्टडी गर्ने, पारिवारिक अवस्था बुझ्ने काम पनि विद्यालयले गर्ने गरेको छ ।
कति विद्यार्थी भोकै हुन्छन्, कतिको घर नभएर डेरामा बस्नुपर्ने अवस्था रहेको छ । यस्ता विपन्न विद्यार्थीका लागि पनि विद्यालयले विभिन्न किसिमका सहयोग गर्दै आएको छ । विद्यार्थीहरूको यो उमेर चञ्चले स्वभावको पनि हुन्छ, त्यसैले उनीहरूलाई गलत बाटोमा लाग्न नदिन परामर्श कक्षा पनि सञ्चालन गरिएको छ । विद्यार्थीलाई व्यावहारिक ज्ञान पनि जरुरी भएकाले विद्यालयले पुस्तक बाहेकका अन्य शिक्षा पनि प्रदान गरिरहेको छ । शिक्षक भनेको अध्यापन गराउनुको साथै विद्यार्थीहरुको अभिभावक पनि हो, त्यसकारणले विद्यालयले विद्यार्थीको अभिभावकको भूमिका पनि बहन गरेको छ ।
विद्यालयले नवीनतम शिक्षा र प्रविधिमा विद्यार्थीलाई जोड्न के–कस्ता सुविधा प्रदान गरेको छ ?
अहिलेको युग प्रविधिको युग हो । प्रविधिमैत्री शिक्षण सिकाइ क्रियाकलाप गर्नका लागि पहिला शिक्षक सक्षम हुनुपर्छ । त्यसका लागि शिक्षकलाई प्रविधिसँग जोड्न विद्यालयले तालिमको व्यवस्था गरेको छ । प्रत्येक शिक्षकलाई प्रविधिमैत्री बनाउन विद्यालयले ल्यापटप प्रदान गरेको छ ।
१५ वटा कक्षा कोठालाई विद्यालयले स्मार्ट कक्षाको रूपमा प्रयोग गर्दै आएको छ । स्मार्ट अन्तरक्रियात्मक प्यानल बोर्ड जडान भएको छ । यी उपकरण सञ्चालनमा ल्याउन विद्यालयले वाईफाईको पनि व्यवस्था गरेको छ । इन्टरनेटको माध्यमबाट सिकाइ सरल र सहज भएको शिक्षक र विद्यार्थीको प्रतिक्रिया छ । अभिभावकको चाहना र विद्यार्थीको रुचि अनुसार विद्यालयमा अध्यापन हुने गरेको छ । विद्यार्थीको चाहनालाई नै मध्यनजर गर्दै विद्यालयले प्राविधिक विषय पनि अध्यापन गराउँदै आएको छ ।
विद्यालयमा प्राविधिक विषयको पनि अध्ययन हुन्छ भन्नुभयो, कसरी सन्तुलन कायम गर्दै हुनुहुन्छ ?
विद्यालयमा भेटनरी कक्षा पनि छ । यो नेपाल सरकारले तोकेको शैक्षिक कार्यक्रम अन्तर्गत पर्छ । त्यसबाहेक पनि धेरै किसिमका कक्षा सञ्चालन भइरहेका छन् । नृत्यमा इच्छुक विद्यार्थीले नृत्यमा भाग लिन मिल्ने कार्यक्रम छ । चित्रकला, संगीत, खेलकुद आदिमा इच्छुकले पनि भाग लिन मिल्ने व्यवस्था गरिएको छ । विद्यार्थीको रुचि र क्षमताअनुसार विशेषगरी शुक्रवार र शनिवार यस्ता कक्षाको व्यवस्था गरिएको छ । यी कार्यक्रम विद्यालय र अभिभावकको सहयोगमा सञ्चालन भइरहेका छन् ।
विद्यालय र अभिभावकको अन्तरक्रिया कार्यक्रम कति समयमा र कसरी सञ्चालन हुने गरेको छ ?
विद्यालय र अभिभावकबीचमा अन्तर्क्रिया कार्यक्रम मासिक रूपमा हुने गरेको छ । शिक्षक अभिभावक संघमार्फत विद्यालयमा अभिभावक भेला भएर विभिन्न समस्याको हल हुने गरेको छ । १२ वटा आमा समूह समेत गठन भएको छ । त्यसमा १ जना आमा संयोजक हुनुहुन्छ, अरू आमाहरू सदस्य हुनुहुन्छ । विद्यालयमा आमा समूह परिचालन समिति रहेको छ । यसको अध्यक्षता प्रअले गर्नुहुन्छ । समूहको सदस्य सचिव महिला शिक्षक सिला खवास हुनुहुन्छ । आमाहरू आएर अनुगमनको काम पनि गर्नुहुन्छ । विद्यालयले व्यवस्था गरेको दिवा खाजाको चेकजाँच पनि आमा समूहका सदस्यले गर्नुहुन्छ ।
नेपालमा सामुदायिक शिक्षा प्रणालीको गुणस्तर न्यून छ भन्ने गरेको पाइन्छ, कसरी सुधार गर्न सकिन्छ ?
नेपालको शिक्षा प्रणालीमा सुधार गर्नुपर्ने कुरा धेरै छन् । शिक्षा प्रणाली समय अनुसार वैज्ञानिक र प्रविधिमैत्री हुनुपर्छ । प्रविधिको पहुँच विद्यार्थी, शिक्षक र अभिभावकसम्म हुनुपर्छ । कक्षा कोठामा जाने शिक्षक पनि सन्तुष्ट हुन जरुरी छ । नेपालमा राज्य प्रणाली अनुसार १८ प्रकारका शिक्षक रहेका छन् । त्यसमा जम्मा २ किसिमका मात्र शिक्षक हुनुपर्छ, एक स्थायी र दोस्रो अस्थायी । समायानुकुल, प्रविधिमैत्री र तालिमको व्यवस्था गरेर शिक्षा दिन सकियो भने नेपाली विद्यार्थीले पनि संसारका जुनसुकै आधुनिक देशका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्छन् ।
नेपालमा सामुदायिक शिक्षा कमजोर भएर विद्यार्थी पढ्न विदेशिएका हुन् ?
१२ कक्षा पढेपछि नेपाली विद्यार्थीहरू नेपालभन्दा विदेशमा पढ्न रुचाउँछन् । शैक्षिक प्रणाली पनि एउटा कारण होला तर यो उमेर समूहमा एउटा ठूलो सपना हुन्छ । सबैको सपना युरोप, अमेरिका, जापान जानेछ । सँगै साथीले समुन्द्रका किनारमा बसेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्छन् । आफू पनि कमाउने, रमाउने मनोविज्ञान नानीहरूमा हुन्छ ।
अध्ययन पश्चात नेपालमा आफूले चाहे अनुसारको रोजगारी नपाएका कारण पनि धेरै जसो युवाहरु विदेशिन बाध्य छन् । हरेक वर्ष ४ लाख ५० हजार बेरोजगार युवायुवती देशले उत्पादन गर्छ । त्यसबाट करीब ५० हजार जतिले मात्र रोजगारी पाउँछन् । आफ्नो छोरा–छोरीको अध्ययन पुरा भएपछि बा-आमाको पनि सपना हुन्छ । त्यो सपना साकार पार्न विदेश गयो भने सजिलो हुन्छ भन्ने मनोविज्ञान विद्यार्थीहरूमा छ । यो रोक्न सरकारले विद्यार्थीको रुचि र चाहना अनुसारका प्राविधिक शिक्षा सुलभ ढंगबाट देशभित्रै प्रबन्ध मिलाउनु पर्ने आवश्यक छ । सरकारले विद्यार्थीको रुची र चाहना अनुसारको प्याकेज कार्यक्रम ल्याउन नसक्दा नेपालमा उत्पादन भएका दक्ष जनशक्ति विदेशमा गएर आफ्नो क्षमता प्रदर्शन गर्न बाध्य छन् ।
स्थानीय तह र समुदायबाट सहयोग कस्तो छ ?
अहिलेको वर्तमान संविधानले माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहलाई हस्तान्तरण गरेको छ । स्थानीय सरकार आफैं सबल र सक्षम नभएको अवस्था छ । माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहमा हस्तान्तरण गर्दा सरकारले नीतिगत रूपमा हस्तान्तरण गर्ने तर त्यसलाई स्रोत र साधनबाट भरिपूर्ण नबनाउने दोहोरो प्रवृत्ति भएकाले स्थानीय निकायले ग्रहण गर्न सक्ने अवस्था छैन । स्रोतसाधन र आर्थिक रूपमा सबल र सम्पन्न बनाउने हो भने मात्र स्थानीय निकायले काम गर्न सक्छ ।
अहिलेसम्म सबैभन्दा ठूलो सहयोग कसैबाट प्राप्त भएको छ भने त्यो अभिभावकबाट भएको छ । संविधानले १२ कक्षासम्म निःशुल्क शिक्षा वितरण गरेको छ तर विद्यालयमा पढ्ने विद्यार्थीका अभिभावकले केही न केही आर्थिक सहयोग दिएकै छन् । गत वर्षको आय–व्यय हेर्ने हो भने करीब १० करोड २१ लाख कारोबार भएको देखिन्छ । जसमा ४ करोड २१ लाख सरकारले सहयोग गरेको र ६ करोड अभिभावकबाट प्राप्त भएको छ । यसबाट के प्रस्ट हुन्छ भने विद्यालय अभिभावकको भरमा चलेको छ ।
सामुदायिक विद्यालयका चुनौती के–कस्ता रहेका छन् ?
सामुदायिक विद्यालयका चुनौती अत्यन्त धेरै रहेका छन् । माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहमा हस्तान्तरण गरेको छ । स्थानीय निकायले ग्रहण गर्न सक्ने अवस्था पनि देखिँदैन । आर्थिक हिसाबले सामुदायिक विद्यालयलाई सञ्चालन प्रक्रियामा लैजाँदा शिक्षकको व्यवस्थापन, भौतिक पूर्वाधारको व्यवस्थापन, निःशुल्क अनिवार्य शिक्षाको व्यवस्थापन गर्न अहिलेको नीतिले सम्भव छैन । यो मापदण्डले विद्यालय सञ्चालन गर्दा झन् धेरै समस्या उत्पत्ति हुने देखिन्छ । सार्वजनिक शिक्षा, सामुदायिक विद्यालयको शिक्षामा राज्यको स्वामित्व हुनुपर्छ । संघीय सरकारले यसलाई व्यवस्थापन गर्नुपर्छ र अन्य सरकारले सहयोग गर्नुपर्छ । सबैको सहयोग भयो भने सामुदायिक विद्यालय अघि बढेर जान्छन् ।
शैक्षिक गुणस्तर संस्थागत विद्यालयमा मात्र छ, सामुदायिक विद्यालय छैन भन्ने भ्रमलाई धुलाबारी माध्यमिक विद्यालयले चिर्न सफल भएको छ । शैक्षिक गुणस्तरका हिसाबले धुलाबारी माध्यमिक विद्यालय जुनसुकै संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्न तयार छ । जीवनयापन गर्ने क्रममा पढेर मात्र मान्छेले खाँदैन, खेलेर, गाएर, अभिनय गरेर पनि पनि खान्छ । भोलि समाजमा आवश्यक पर्ने विभिन्न क्षेत्रका मान्छे उत्पादन गर्न हाम्रो विद्यालय सक्षम छ ।
अन्त्यमा केही कुरा राख्न चाहनुहुन्छ ?
हिजो र आजको अवस्था फरक छ, नेपाल पनि परिवर्तन हुँदै गइरहेको छ । हामीले निराशा बाँड्नु हुँदैन, आशाका दियो बाल्दै जानुपर्छ, नेपालको सार्वजनिक शिक्षा सबल र सक्षम हुनेछ । सधैं निराशा मात्र भयो भने देशको विकास हुँदैन । हामीले आ-आफ्नो क्षेत्रबाट सम्भावना खोज्नुपर्छ । सबै विद्यार्थीहरूमा क्षमता छ, आफ्नो क्षमतालाई बुझ्न सक्नुपर्छ र साथै आत्म विश्वास भयो भने अवश्य पनि लक्ष्यमा पुग्न सकिन्छ ।