बझाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मंगलबारको भूकम्पबाट प्रभावित क्षेत्रको अवलोकनका लागि आज शुक्रबार बझाङको सदरमुकाम चैनपुर पुगेका उनले पीडित परिवारको आवश्यकतालाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
उनले सदस्य संख्याका आधारमा प्रभावित परिवारलाई १५ देखि २० हजार उपलब्ध गराउने जानकारी दिए । प्रधानमन्त्री दाहालले भने, ‘राहतमा पाल, कम्मल, औषधिलगायत तत्काल अत्यावश्यक सामग्री उपलब्ध गराउन सरकार क्रियाशील छ ।’
भूकम्प पीडितलाई तत्काल राहत तथा अस्थायी टहरा निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भने, ‘संघीय, प्रदेश र स्थानीय सरकार सबै प्रभावित जनताको साथमा छ, सरकार जनतासँगै छ ।’
प्रधानमन्त्री दाहालले भूकम्पबाट भएको क्षतिको तथ्यांक संकलन गरी क्षति पुगेका संरचनाको प्रबलीकरण वा पुनर्निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
भूकम्पमा परी घाइते भएकाको निःशुल्क उपचार भइरहेको जानकारी दिँदै उनले भूकम्पपछि आएको पहिरोमा परी ज्यान गुमाएकी जयपृथ्वी नगरपालिका–११ स्थित ओखलकी ४० वर्षीया गुनमति धामीका परिवारलाई तत्काल २ लाख राहत दिने बताए ।
स्थानीय, प्रदेश र संघीय सरकारबाट क्षति मूल्यांकनका आधारमा कार्यविधि बनाई भूकम्प प्रतिरोधी घर निर्माण गर्न सहयोग गर्ने उनले बताए । प्रधानमन्त्री दाहालले भने, ‘यसअघि गोरखा, सिन्धुपाल्चोक लगायत जिल्लामा गरिएको पुनर्निर्माण जस्तै स्थानीय सामग्री प्रयोग गरी काम अघि बढाइनेछ । सरकारी, विद्यालय तथा स्वास्थ्य संस्थाको पुनर्निर्माण गरिनेछ । सबै संरचना भूकम्प प्रतिरोधी हुनेछन् ।’
सो क्रममा उनले विश्व खाद्य कार्यक्रमले सहयोग गरेको पोषणयुक्त बिस्कुट जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरे ।