काठमाडौं । काठमाडौं जिल्ला अदालतले ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।
न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले शुक्रबार २५ जनालाई थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।
अदालतले १ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । भन्सार एजेन्ट रूक्मिना सुब्बासँग ५ लाख धरौटी माग गरिएको छ ।
सुन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले २६ जनालाई पक्राउ गरी अदालतमा मुद्दा पेश गरेको थियो । चिनियाँ नागरिक एलेक्स भन्ने याओ पुचेङ, ली वेन सुङ, लि नेंकाइ, दिंग सेग्फा, लिन चछयाङ, भारतीय नागरिक टासी भन्ने थुप्तिन छिरिङ, हर्कराज राई, बेल्जियन नागरिक दावा छिरिङ, चिनियाँ नागरिक याङ वेन र टियान मी लगायतलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
अदालतले कृष्णकुमार श्रेष्ठ, पुष्करराज भट्ट, राजेन्द्रकुमार राई, यादव पराजुली, सुदर्शन गौतम, रामकुमार भुजेल, दिलिप भुजेल, सुमन खरेल, शिवकुमार सर्राफ, किशोर बस्नेत, सन्तोष चन्द, गणेशप्रसाद पौडेल, विरेन्द्र नेपाली, कुमार ढकाल र सरोज श्रेष्ठलाई थुनामा पठाउन आदेश गरेको छ ।
कलैया उपमहानगर–१ बस्ने भोला साह सोनार, बर्दिया घर भई काठमाडौं चुनदेवी बस्ने जीवन चलाउने र रोल्पा घर भई ठमेलमा भियना होटल सञ्चालन गर्दै आएका अमला रोका फरार छन् ।
सुन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले २९ जनालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । त्यसपछि सरकारी वकिलले २९ जनाविरुद्ध भदौ ३१ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
संगठित अपराध निवारण ऐन २०७०, भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख), नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ र मुलुकी अपराध संहिता २०७४ को दफा ४३ को एकीकृत कसूरमा मुद्दा दर्ता गरिएको थियो ।