काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत लिने कार्यसूची तय भएको छ।
संविधानको धारा १६८ को उपधारा (३) अनुसार गत भदौ २२ गते उनी मुख्यमन्त्री नियुक्त भएका थिए। नियुक्त भएको ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
सरकारका लागि प्रदेशसभाको अंकगणित प्रतिकूल हुँदा कार्कीले विश्वासको मत पाउने सम्भावना कमजोर छ। कोसीको ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४७ मत चाहिन्छ।
सरकारसँग अहिले उपसभामुखसहित ४० प्रदेशसभा सदस्य छन्। प्रदेशमा सभामुख खाली छ। प्रदेशसभाको अध्यक्षता गर्नुपर्ने हुँदा उपसभामुखले विश्वासको मत दिन मिल्दैन। एमालेसँग मत दिन पाउने प्रदेशसभा सदस्य ३९ मात्रै हुन्छन् । एमालेसँगै गठबन्धनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग ६ जना प्रदेशसभा सदस्य छन्।
कार्कीले विश्वासको मत पाउन राप्रपा एक्लैले साथ दिएर हुँदैन। यद्यपि, मुख्यमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्ने टुंगोमा राप्रपा पुगिसकेको छैन। हाल राप्रपा सरकार बाहिर छ। उपसभामुखबाहेक एमाले र राप्रपाका ४५ जना मात्रै प्रदेशसभा सदस्य छन्।
विपक्षी गठबन्धनसँग ४७ प्रदेशसभा सदस्य छन्। गठबन्धन दल नेपाली कांग्रेससँग २९, नेकपा (माओवादी केन्द्र) सँग १३, नेकपा (एकीकृत समाजवादी) सँग ४ र जनता समाजवादी पार्टी (जसपा) सँग १ जना प्रदेशसभा सदस्य छन्। स्रोतका अनुसार विपक्षी गठबन्धनले कार्कीलाई विश्वासको मत दिने सम्भावना छैन।
गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले नै अहिलेको सरकारलाई विश्वासको मत नदिने संकेत गरेका छन्।