संघीय सांसद कान्तिका सेजुवालले २५ वर्ष शिक्षण पेशामा काम गरिन् । २०७४ मा २० वर्षपछि भएको स्थानीय तह चुनावमा चन्दनाथ नगरपालिकाबाट निर्वाचित पहिलो महिला मेयर बन्न सफल भएकी थिइन्- सेजुवाल । जुम्लाका तत्कालीन नेपाली कांग्रेसका पूर्वसभापति मानव सेजुवालकी श्रीमती हुन् उनी । मानवले २०७० सालमा विमान दुर्घटनाका कारण ज्यान गुमाउनु परेको थियो ।
समानुपातिक प्रतिनिधित्वका आधारमा प्रतिनिधि सभाको सदस्य बनेकी सेजुवाल उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित संरक्षण समितिकी सदस्य पनि हुन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सेजुवालले २०४२ सालबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन् । जुम्लादेखि सांसदसम्मको यात्रा निकै कष्टपूर्ण छ उनको ।
उनै सेजुवालसँग जुम्लाको सामाजिक, शैक्षिक तथा राजनीतिक सरोफेरोमा रहेर व्यवस्थाका लागि एन्जिला क्षेत्रीले गरेको कुराकानीको सम्पादित अंश:
जुम्लाको कयौँ दिदीबहिनीहरूले स्कुल देख्न पाएनन् तर तपाईंले चालिसको दशकमै एसएलसी पास गर्नु भयो र शिक्षण पेशामा लाग्नु भयो, यो कसरी सम्भव भयो ?
पहिला-पहिला छोरी-चेलीलाई पढ्न सहरमा त गाह्रो थियो, अझ जुम्लामा कसले चिताउने? अहिलेको जस्तो किताबको भारी बोक्न पाइँदैन थियाे ती दिनमा । एउटा किताब र कलम बोकेर स्कुल जान पाउनु नै ठूलो क्रान्ति हुन्थ्यो । अझ जुम्लामा त ती दिन किताब पनि मुस्किलले पाइन्थ्यो । ज्यामेटी बक्स भन्ने थाहा थिएन । झोला बोक्ने चलन थिएन । हातले बुनेको खद्दरको झोला बिरलै देख्न पाइन्थ्यो । दिदीबहिनीहरू स्कुल जानुको साटो घाँसदाउरा गर्न जान्थे । औंलाले गन्न सकिने दिदीबहिनी स्कुल जान्थे । त्यो पनि ड्रपआउट भइहाल्थे ।
मैले एसएलसी ४५ सालमा दिएर फेल भएपछि ४६ सालमा फेरि परीक्षा दिएर पास भएकी थिएँ । एकपटक फेल भएपछि पढ्ने अवसर अत्यन्तै न्युन हुन्थ्यो । भाग्यमानी छोरी रहेछु- विवाह भएको म पनि फेल भएर पनि पुनः एसएलसीको परीक्षा दिन पाएँ, कलेज पढ्न पाएँ । ४४ सालमा नै मेरो सन्तान भइसकेको थियो । स्कट लगाएर स्कुल जान्थेँ । कसैलाई थाहा थिएन मैले विवाह गरेर स्कुल गएकी हुँ भन्ने । जुम्लामा विवाह गरेर पनि स्कुल जानु पर्छ भनेर मैले सुरु गरेपछि धेरै विवाहित महिलाहरू स्कुल जान थालेका थिए ।
हाम्रा दिदीबहिनीहरू स्कुल कम जानुको कारण आर्थिक अभाव, शिक्षा र चेतनाको अभाव नै हो, तर मेरो परिवार शिक्षित थिए । मेरो श्रीमान पनि महिलाहरूले पढ्नु पर्छ भन्ने बुझ्नु हुन्थ्यो । त्यसो हुँदा पारिवारिक साथ र सहयोग पाएरै मैले पढ्न सकेकी हुँ ।
तपाईं स्कुल घर गर्दा तपाईंसँगका धेरै दिदीबहिनी घाँसदाउराको काममा व्यस्त हुन्थे, तिनलाई देखेर स्कुल हिँड भन्ने भाव आएन ?
म आफैं पनि किशोर उमेरको भएर होला, त्यो समय त्यस्तो भावना आउँदैन थियाे । मैले पढ्न पाएँ भनेर खुसी पनि थिइनँ । तिनले घाँसदाउरा गर्नुपर्याे भनेर दुःखी पनि थिइनँ । म बुझ्न सक्ने भइसकेको थिइनँ । मसँगै सबैले पढ्न पर्छ भन्ने सोच आउन समाज पनि त्यस्तै हुनुपर्दो रहेछ । म पनि त्यही समाजको पात्र न हुँ । जस्तो समाज त्यस्तै भावना जन्मिने हो । बरु त्यो बेला त जुन महिलाले ठूलो भारी बोक्थिन् तिनले स्यावासी पाउँथे । तिनको हाइ हाइ हुन्थ्यो ।
चार दशक अघिको कुरा सम्झिएँ भने मलाई अहिले पनि आश्चर्य लाग्छ कि त्यो जीवनशैलीका दिदीबहिनीहरू कसरी खुसी हुन सके? अहिले पनि कर्णालीका दुर्गममा नांगाे खुट्टा हिड्नुपर्ने अवस्था छ । बीस वर्ष अगाडि पनि दिदीबहिनीलाई पेटीकोट लगाउन आउँदैन भन्थे । तन्ना विछ्याएर सुत्न जान्दैनथे । नागरिकको विकास खोजेनौँ, केवल भौतिक विकास खोजियो जसका कारण हिजो पनि विकास भनियो, आज पनि विकास भनियो । खासमा चेतनाको विकास नहुञ्जेलसम्म सिंगो समाज बदलिन सक्दैन तर चेतनाको विकास हुन शिक्षामा जोड गर्नुपर्छ ।
जुम्लाका महिलामा तपाईंमात्रै बदलिनु भएछ ? तर आज पनि त्यहाँका दिदीबहिनीहरू तपाईंले देखेको तीस चालिसको दशकको अवस्था झेल्दै छन् नि ?
हाम्रो संविधानले अवलम्बन गरेको कानुन र नेपाल सरकारले ल्याएको नीति तथा कार्यक्रमका साथै अन्य योजना अनुसार जान सकियो भने धेरै माथि उठ्न सकिन्छ । तर हामीले एकअर्कालाई दोष दिन मात्र खोज्छौँं । अर्को कुरा अवसरलाई सही सदुपयोग गर्न सक्दैनौँ । कि मिस युज गर्न लाग्छौँ, त्यसले पनि केही असर गर्छ । जारी प्रथा उन्मुलन, घरेलु हिंसा, छाउपडी प्रथा जस्ता थुप्रै समस्याको समाधान गर्न खोजियो । केही न्युनीकरण पनि भए, केही हुँदै छन् । महिलाको १२ वटा अधिकारमध्ये प्रजनन अधिकारको बारेमा मैले धेरै नै काम गरेँ । अर्को कुरा हामी महिलाहरू पनि अलिकति सचेत हुनुपर्याे । हामी पनि सतप्रतिशत ठीक छौँ भन्दिनँ म । मैले दिनु पर्ने आवाज उठाउनु पर्ने सवाल उठाइरहेकी छ । तर आजको कर्णालीका महिला पचासको दशकभन्दा धेरै माथि उठेको नकार्न सकिँदैन ।
२०७४ सालमा प्रधानाध्यापिकाबाट राजीनामा दिएर ७४ को स्थानीय चुनाव लड्नु भयो । मेयर जित्नु भयो । तपाईं मेयर भएपछि जुम्लाको शिक्षामा सुधारचाहिँ के आयो ?
२५ वर्षको शिक्षण पेशाको यात्रामा १४ वर्ष त मैले प्रध्यानाध्यापक भएर काम गरेँ । म जुम्लाको पहिलो महिला प्रधानाध्यापिका हुँ । नभएको स्कुल खोलेर भण्डारी गाउँ अर्थात् २ नम्बर वडामा ६ महिना त भुइँमा केटाकेटी पढाएँ । त्यही चौरमा स्कुल बनाएर चलाइयो । जुम्लाका महिलाले अवसर पाए भने काम गरेर देखाउन सक्छन् है भन्ने बनाइएको छ ।
जस्तै, कर्णाली माध्यमिक विद्यायमा जहाँ मैले १४ वर्ष पढाएँ, जसलाई मैले २०६७ मा जुम्लाकै पहिलो नमुना विद्यालय बनाएँ । महिला प्रधानाध्यापिकाले पनि सक्दा रहेछन् नि काम गर्न । प्रशासनिक तथा व्यवस्थापन गुणस्तरीय स्कुल बनाएँ । मेरो नेतृत्वमै जुम्लामा फुटबुल खेल्न थालिएको हो । स्नातक तह म विवाहित महिला भएर पनि टेबल टेनिस, बास्केट बल तथा फुटबल खेल्थेँ र खेलाउँथेँ । त्यो बेला शिक्षा कति महत्त्व थियो र अभावमा पनि राम्रो सिकाइ हुन सक्छ भन्ने उदाहारण दिएकी थिएँ ।
मेयर भएपछि सत प्रतिशत एसएलसी पास गर्ने विद्यार्थीको दर बढाएँ । विद्यालय छाड्ने विद्यार्थीको संख्या घटाइयो । बालविवाहको कारण स्कुल छोड्ने भाइबहिनीलाई स्कुल फर्काउन खोजियो । विवाह गरेर जाने छोरीलाई पनि पढाउन लगाइयो । जुम्लाको हकमा वा कर्णालीको हकमा ४८ प्रतिशतबाट ५८ प्रतिशत साक्षरता बनाइयो ।
संसद भवनबाट जुम्लाको महिलाको बारेमा कसरी सोच्नु भएको छ र संसदले कर्णालीलाई कस्तो दृष्टिकोणले हेरेको छ ?
जुम्लाका दिदीबहिनीले कस्तो जीवनशैली बाँचिरहेका छन् भन्ने मेरो चासो हो, चिन्ता हो । कस्तो संघर्ष गरिरहेका छन्, त्यो संघर्षबाट माथि उठाउन के गर्ने भन्ने पहल गरिरहेकी छु । संसदमा पनि म यही आवाज उठाउने गरेकी छु । राजनीतिबाट नै परिवर्तन सम्भव छ भनेर जुम्लाका दिदीबहिनीको लागि बोलिरहेकी छु । लडिरहेकी छ ।
महिलाको विकासको लागि अहम भूमिका खेल्ने गैरसरकारी संघसंस्था पनि छन् । अहिले पनि मसँग चार एनजिओ छन् । धेरै कुरा सिकेकी छु र सिकाएकी छु संघसंस्थामा जोडिएर । संघसंस्थाले त महिलाहरूको नेतृत्व बढाउँदोरहेछ । अहिले साक्षरता पनि बढ्दै गएको छ । सबै भन्दा विकास हुन शिक्षा हुन्छ । हाम्रो जुम्लामा गएर विकास म यस्तो गर्छु नभने पनि भयो ।
संसदको कर्णालीलाई हेर्ने दृष्टिकोण राम्रो छैन भन्थे । नेताहरू सबैलाई आइडल बन्नु छ । राम्रो पनि बोल्दिने नराम्रो पनि बोल्दिने गर्छन् । अरे कर्णाली जे छ त्यही बोले हुन्न । कर्णाली भौगोलिकताको हिसाबले त पिछडियो, जसका कारण विकासबाट पनि पछाडि प¥यो । कर्णालीका लागि दिइने बजेटमा पनि हिजो उपेक्षित गरिन्थ्यो र अहिले पनि उपेक्षित नै गरिन्छ ।
संसारभरिको गाह्रो भूगोल नेपाल हो र त्यसमा पनि कर्णाली अझ गाह्रो भूगोल हो । यसरी विकास हुँदैन भन्ने हुन्छ । डोजर प्रयोग नगर है भन्ने हुन्छ तर डोजरले पनि केही विकास त गर्यो ।
कर्णालीलाई सधैं गरिबीको ट्याग लगाएर माग्ने गरियो, त्यसो पनि होइन । भौतिक पूर्वाधारको विकास नभएको हुनाले त्यस्तो भएको होला तर सांस्कृतिक हिसाबले, भाषाको हिसाबले कर्णाली धेरै माथि छ । धेरै उन्नत छ । म आफू मेयर हुँदा घोषणापात्रमा लेखिएका सबै काम गरेकी थिएँ र अहिले पनि कर्णालीकै विकासका लागि केन्द्रको राजनीतिलाई झकझकाइरहेकी छु ।
२०७४ सालको चुनाव गणतन्त्रपछिको संघीयता कार्यान्वयन समय हो र जनप्रतिनिधिको रूपमा काम गर्न कत्तिको चुनौती आइपर्दा रहेछन् ?
२०७४ सालपछि धेरै चुनौती थियो । अझ महिलालाई झन् चुनौती थियो । जुम्लामा पानीको समस्या, भवनहरू बनाउने गाह्रो, कर्मचारीको समायोजन गर्नु झन् गाह्रो थियो । कानुन बनाउनु पर्ने अवस्था थियो । कोभिड १९ को महामारीलाई चुनौती पनि थियो, र पनि काम गर्ने अवसर थियो । स्थानीयको अवस्था निरीक्षण गर्ने अवसर पनि थियो । नागरिकसँग नजिक हुने अवसर थियो । जनतालाई साँच्चै सेवा दिने हो भने स्थानीय तहको राजनीतिले ठूलो काम गर्न सक्छ ।
स्थानीय तहमा बजेट बनाउन कत्तिको सकस हुन्छ ? माथिल्लो प्रदेश र संघीय सरकारले कति सहयोग गर्दैनन् भन्ने गुनासो पनि सुनिन्छ, हो ?
केन्द्रीय सरकारले बजेट नल्याउँदै स्थानीय तहले बजेट ल्याउनु पर्छ । त्यसमा पनि सीमा निर्धारण गरिएको हुन्छ । केन्द्रीय सरकारले यो गरेन, त्यो गरेन भन्नु ठिक पनि होला तर स्थानीय तहमा त जनतासँग काम गर्नुपर्छ जुन धेरै गाह्रो हुन्छ । प्रत्यक्ष जनतासँग मिलेर काम गर्न सकिएन भने गाल पाइन्छ । जस्तो- केपी शर्मा ओलीको सरकार हुँदा काम गर्न साह्रै गाह्रो भयो मलाई ।