काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको छ ।
सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा उनीहरुबीच सरकारको प्रभावकारिता, समाजवादी मोर्चाको अभियान, मुलुकको अर्थतन्त्र, संसद्को चालु अधिवेशन तथा संयुक्त राष्ट्र सङ्घका महासचिवको नेपाल भ्रमणलगायत विषयमा कुराकानी भएको थियो ।
भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले सरकारलाई प्रभावकारी बनाउने लगायत समसामयिक विषयमा प्रधानमन्त्री दाहालसँग छलफल भएको जानकारी दिए ।
सत्ता गठबन्धनको बैठक बसेर दलका बीचमा विभिन्न मुद्दामा समान धारणा बनाउने विषयमा पनि छलफल भएको उनले जानकारी दिए । दुई पार्टीबीचका सम्बन्धलाई घनिभूत र बलियो बनाउने विषयमा पनि गम्भीर कुराकानी भएको बताए।
भेटमा सरकारका विभिन्न निकायमा हुने नियुक्तिका बारेमा पनि कुराकानी भएको अध्यक्ष नेपालले जानकारी दिए । मन्त्री, नीति तथा आयोग एवं राजनीतिक नियुक्तिका सम्बन्धमा दलहरुबीच भएको सहमति पालना नभएकामा अध्यक्ष नेपालले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए ।
संयुक्त राष्ट्र सङ्घका महासचिवको आसन्न नेपाल भ्रमण, भेटघाट तथा संसद्मा सम्बोधन लगायत विषयमा प्रधानमन्त्रीसँग छलफल भएको उनले जानकारी दिए ।