काठमाडौं । सरकारले इजरायलमा भएको आतंकवादी हमलाको निन्दा गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको छ ।
सरकारले हमलामा अमूल्य जीवन गुमेकामा तथा धेरै मानिस घाइते भएकोमा दुःख व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालयले इजरायल सरकार तथा जनताका साथै हमलामा परी जीवन गुमाएकाहरूका परिवारप्रति गहिरो सहानुभूति एवं समवेदना व्यक्त गरेको छ । नेपाल सरकारले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
परराष्ट्र मन्त्रालयले आज शनिबार साँझ जारी गरेको विज्ञप्तिअनुसार आतंकवादी आक्रमणमा नेपाली पनि परेका छन् ।
आक्रमणमा परेका ९ जना नेपालीमध्ये २ जनाको अवस्था गम्भीर छ । यससम्बन्धी थप विवरण अद्यावधिक गरिने मन्त्रालयले जनाएको छ ।
इजरायलस्थित नेपाली दूतावासले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गरेका नेपालीसँग निकट सम्पर्कमा रहेको जनाउँदै नेपालीको सुरक्षा तथा उद्धारका साथै घाइतेहरूको उपचारका लागि पनि इजरायली अधिकारीहरूसँग सम्पर्क र समन्वय गरिरहेको परराष्ट्रले बताएको छ ।
इजरायलको वर्तमान स्थितिलाई दृष्टिगन गरी त्यहाँ सहेका सबै नेपालीलाई सतर्क रहन तथा सम्बद्ध अधिकारीले दिएका सुरक्षा उपायको अक्षरशः पालन गर्न सरकारले अनुरोध गरेको छ ।
इजरायलस्थित नेपाली दूतावासको सम्पर्क विवरण पनि सरकारले उपलब्ध गराएको छ । टेलीफोनः +९७२(०)३५१६८०८५, राजदूत कान्ता रिजाल ९७२५४५८६४४२३ र प्रथम सचिव अर्जुन घिमिरे +९७२५४५८६४४२३ रहेको छ ।