काठमाडौं । प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तीमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।
घटनामा घाइते भएका ६ जनाको उपचार भैरहेको छ भने एकजना सम्पर्कविहीन रहेका छन् । तेल अभिभस्थित इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले हमासको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि गरेकी हुन् ।
इजरायलमा पढ्न गएका उनीहरु सुतिरहेको स्थानमा बम खसेपछि घटना भएको त्यहाँ रहेका नेपालीहरुले जनाएका छन् । मृत्यु हुनेमा विद्यार्थीहरू रहेका छन् । यद्यपि यसबारेमा परराष्ट्र मन्त्रालयले जानकारी दिएको छैन ।
मृत्यु हुनेमा कैलाली घोडाघोडी ४ का नारायण प्रसाद न्यौपाने, बझाङ जय पृथ्वी ६ का गणेश कुमार नेपाली, कैलाली बाउनिया ३ का आशिष चौधरी, दार्चुला लेकम ५ का दिपेश राज विष्ट, धनुषा सपही ६ का आनन्द शाह, सुनसरी मधुवनका राजेश कुमार सर्वांकर, डाेटी पचनाली ३ का राजन फुलरा, लामिखाल ८ का पदम थापा, सल्यान शारदा ३ का प्रवेश भण्डारी र दार्चुलाका लोकेन्द्र सिंह धामी रहेको दूतावासले जनाएको छ ।
५० वर्षअघि योम किपर युद्ध सुरु भएको दिन (६ अक्टोबर)को भोलिपल्ट शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । इजरायली अधिकारीहरुका अनुसार यो आक्रमणमा परी मृत्यु हुनेको संख्या ६ सय नाघेको छ । सयौं मानिस घाइते भएका छन् ।