डा. यञ्जन गैह्रेको जन्म स्याङ्जाको वालिङ नगरपालिकामा भएको हो । उनले स्याङ्जाको नेपाल आदर्श उच्च माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका हुन् । एसएलसीपछि उनको यात्रा काठमाडौंको नोबेल मेडिकल कलेजमा तय भयो । उनले नोबेल मेडिकल कलेजबाट १२ सम्मको अध्ययन पूरा गरे ।
१२ कक्षाको अध्ययन पूरा भएपछि मात्र उनले योग तथा प्राकृतिक चिकित्साबारे थाहा पाएका थिए । योग तथा प्राकृतिक चिकित्सा बुझ्ने क्रममा उनको भेट वरिष्ठ योग तथा प्राकृतिक चिकित्सा डा. हरिप्रसाद पोखरेलसँग भयो । जो नेपालमा योग तथा प्राकृतिक चिकित्साको पथ प्रदर्शक समेत रहेका गैह्रे बताउँछन् । त्यसबेला उनी भीमसेनथानमा रहेको योग तथा प्राकृतिक चिकित्सा अस्पताल गइरहन्थे । त्यहाँ बिरामीको भीड समेत लाग्ने गथ्र्यो ।
उनी योग तथा प्राकृतिक चिकित्सा अस्पताल पुग्दा हिँड्न नसक्ने, सबै अस्पतालमा उपचार गरेका औषधि बोकेर आउने, अप्रेसन गरेका र गर्नुपर्ने बिरामीहरू, हड्डी, नसाका बिरामीहरू देखेको बताउँछन् । त्यसपछि उनी पनि विदेश जाने वा एमबीबीएस गर्नेभन्दा योग तथा प्राकृतिक चिकित्सा क्षेत्रमा लागेका थिए ।
त्यसपछि उनले भारतको राजिव गान्धि स्वास्थ्य विज्ञान विश्वविद्यालयबाट ५ वर्ष ६ महिना प्राकृतिक चिकित्सा र योग विज्ञानको अध्ययन गरी स्नातक उत्तीर्ण गरे । उनले भारतबाट फर्किएपछि काठमाडौंमा रहेका विभिन्न योग तथा प्राकृतिक चिकित्सा अस्पतालमा काम गरेका छन् । करीब १२ वर्षको लामो अनुभवपछि उनी हाल हिमालयन योग तथा प्राकृतिक अस्पतालमा मेडिकल डाइरेक्टरका रूपमा कार्यरत छन् ।
उनी योग तथा प्राकृतिक चिकित्सा संघको केन्द्रीय उपाध्यक्ष पनि हुन् । उनले उपाध्यक्षको पदमा बसेर योग तथा प्राकृतिक चिकित्साको क्षेत्रमा धेरै काम गरिसकेका छन् । देशमा योग तथा प्राकृतिक चिकित्सालाई आधुनिक विचारको क्रान्तिमा आधारित हुनुपर्ने उनी बताउँछन् । नेपालमै योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुनुपर्छ भनेर काम गरेको उनले बताए ।
नेपालका विभिन्न अस्पतालमा अनुगमन गर्दा आफूले धेरै कुरा सिकेको उनी बताउँछन् । उनी जनतालाई आफ्नो स्वास्थ्यमा सचेत रहन चेतना प्रदान गरिरहेका छन् । कोभिडको समयमा पनि उनले विभिन्न जनचेतनाका कार्यक्रम सञ्चालन गरेका थिए । सरकारसँगको सहकार्यमा रहेर नीति–निर्माणको काम समेत गरेको उनी बताउँछन् ।
हिमालयन योग तथा प्राकृतिक अस्पताल
हिमालयन योग तथा प्राकृतिक अस्पतालमा कम्मर, गर्दन, घुँडा दुखेको र नसा सम्बन्धी रोगहरू, बाथ, जोर्नी र हड्डी सम्बन्धी रोगहरू, प्यारालाइसिस, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, खोकी, पिनास, माइग्रेन, डिप्रेसन, ग्यास्ट्राइटिक्स, पायल्स, कब्जियत आदिको उपचार हुन्छ ।
अस्पतालमा स्वास्थ्य परीक्षणका साथै ओपीडी, आईपीडी र ल्याब सेवा समेत उपलब्ध रहेको छ । अस्पतालमा नेपालका मात्र नभएर विदेशदेखि पनि बिरामी आउने गरेको र प्राकृतिक चिकित्सा विधिबाट विना चिरफार उपचार गर्ने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘हाम्रो अस्पतालमा आपतकालीन अवस्थाबाहेक दीर्घकालीन रोग लागेका, नसाका बिरामी, मानसिक चिन्ता, अव्यवस्थित जीवनशैली भएका बिरामी, असुरक्षित खानपानले समस्या भएका बिरामीहरू आउने गर्छन् ।’
प्राकृतिक चिकित्सा
प्राकृतिक चिकित्सा भनेको नितान्त औषधिविहीन हुन्छ । जुन पञ्च महाभूता पृथ्वी (भूमि), जल (आप), अग्नि (तेजस), वायु (हावा), आकाश (नभ) तत्वबाट पाइएको चिजबाट सर्वेक्षण गरी रोगको उपचार गर्नु नै प्राकृतिक चिकित्सा पद्धति हो । योग थेरापी, मसाज थेरापी, हाइड्रो थेरापी, उपवास, भोजन चिकित्साबाट रोगको उपचार हुन्छ ।
प्राकृतिक चिकित्साले रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउने मुख्य उद्देश्य बोकेको हुन्छ । यसमा योग थेरापी, फिजियो थेरापी, मसाज थेरापी, हाइड्रो थेरापी, अकुपञ्चर, अकुप्रेसर, भोजन परामर्श र जीवनशैली परामर्श लगायतका उपचार पद्धतिहरू समावेश हुन्छन् ।
मानिसको जीवनमा प्राकृतिक चिकित्साको महत्त्व
जन्मजात मानव प्रकृतिसँग जोडिएको हुन्छ । त्यसैले मानवको स्वास्थ्य पनि यसबाट अलग हुने कल्पना गर्न सकिँदैन । चिकित्सा भनेको एउटा शास्त्र मात्र हो । हामी प्रकृतिबाट आएका हौं, त्यसैले मानिसको जीवनमा प्राकृतिक चिकित्साको महत्त्व धेरै हुने गर्छ ।
योग र प्राकृतिक चिकित्साको सम्बन्ध
उपचारका क्रममा गरिने योग पनि प्राकृतिक चिकित्सा अन्तर्गत पर्ने गर्छ । योगबाट समाधि प्राप्त गर्ने हो भने योग गुरुहरू कहाँ जानुपर्छ । उपचारका लागि योग विधि अपनाउने हो भने प्राकृतिक चिकित्सा र योग विज्ञानमा विज्ञता हासिल गरेका विशेषज्ञ कहाँ जानुपर्छ । योग र प्राकृतिक चिकित्साको सम्बन्ध नङ र मासुको जस्तो हुन्छ । योग नभई प्राकृतिक चिकित्सा पूरा हुँदैन भने प्राकृतिक चिकित्सा नभई योग पनि अपुरो रहन्छ । रोग अनुसारको योग पनि प्राकृतिक चिकित्सामा लागू हुने गर्छ । योग भनेको ध्यान र प्राणायाम मात्र भन्ने गलत बुझाइ समाजमा रहेको छ ।
योग तथा प्राकृतिक चिकित्साको वैज्ञानिक प्रयोगमा नेपालको अवस्था
प्राकृतिक चिकित्साको मूल भूमि नेपाल हो । राज्यले अहिलेसम्म यस विधिलाई विशेष महत्त्व दिएको पाइँदैन । यसको कारण सम्बन्धित नीति–निर्मातामा प्राकृतिक उपचार पद्धतिको बारेमा ज्ञान नभएको कारणले हुनसक्छ । हामीसँग भएका विधि नै हाम्रा सम्पत्ति हुन् । यसबाट स्वास्थ्य लाभको अलावा राम्रो आर्थिक लाभ र हाम्रो मौलिक पहिचान समेत विश्व बजारमा स्थापित गर्न सकिन्छ ।
यसको अलावा केही चासो हुँदाहुँदै पनि स्रोतसाधन र आधुनिक प्रविधिको अभावकै कारण समस्या सिर्जना भएको हुनसक्छ । अहिले योग तथा प्राकृतिक चिकित्सा स्वास्थ्य मन्त्रालय अन्तर्गत हुँदाहुँदै पनि यसलाई योग तथा आयुर्वेदिक विभागभित्र वैकल्पिक चिकित्सा शाखामा मात्र सीमित पारिएको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखामा प्राकृतिक चिकित्सालाई राखिएको हुँदा यस पद्धतिको व्यापक प्रचारप्रसार हुनुपर्ने थियो, नेपाल सरकारले जुन रूपमा यसको व्यापकताको लागि पहल गर्नुपर्ने थियो, त्यो हुन सकेको छैन । अहिले पनि यो राज्यको प्राथमिकतामा नपरेको उपचार विधिको रूपमा परिचित छ ।
योग तथा प्राकृतिक चिकित्सामा अहिले केही विकृतिहरू समेत देखिएका छन्, त्यस्ता विकृतिको पहिचान र समाधानमा समेत राज्यको ध्यान जान सकेको छैन । प्राकृतिक चिकित्सा विधिबाट उपचार गर्ने बिरामीहरूले पनि सर्वप्रथम आधिकारिक योग तथा प्राकृतिक चिकित्सा विधि अपनाएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी पहिचान गरेर मात्र उपचार गराउनुपर्ने जरुरी छ ।
सामुदायिक रूपमा यसले धेरै फड्को मारेको छ तर सरकारले गर्नुपर्ने काम उसले पूर्ण रूपमा गर्न सकिरहेको छैन । अहिले धेरै विश्वविद्यालय पनि योग तथा प्राकृतिक चिकित्सालाई मान्यता दिएका छन् । यो चिकित्सा पद्धतिले रोग लागेकालाई निरोगी बनाउने र निरोगीलाई दीर्घजीवी रही रहन पनि मद्दत गर्छ ।
भौतिक शरीर र आत्माको सन्तुलनमा प्राकृतिक चिकित्साको योगदान र महत्त्व
जब हाम्रो मन, शरीर र आत्मामा असन्तुलन पैदा हुन्छ, तब हामी बिरामी हुन्छौं । विश्व स्वास्थ्य संगठन पनि यही भन्छ । मानिस स्वास्थ्य रहन यी ३ कुरा सन्तुलन हुन जरुरी छ । विश्व स्वास्थ्य संगठन नाराअनुसार प्राकृतिक चिकित्सा नै सर्वोकृष्ट चिकित्सा पद्धति देखिन्छ । जबसम्म अध्यात्मलाई मान्दैनौं, तबसम्म हामी मानसिक रूपमा पनि स्वास्थ्य हुन सक्दैनौं ।
अहिलेको आधुनिक अभ्यासमा समेत शरीर, मन र आत्मा अर्थात् आध्यात्मिक, मानसिक र शारीरिक स्वास्थ्यमा सन्तुलनको लागि प्राकृतिक चिकित्सा तथा योग पद्धतिले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
प्राकृतिक चिकित्सा आधुनिक चिकित्साभन्दा कति फरक
आधुनिक चिकित्सा अनुसन्धानले चल्ने शास्त्र पनि हो । यो चिकित्सा पद्धति अनुसन्धानमा भर पर्छ । आधुनिक चिकित्साले शारीरिक रूपमा तन्दुरुस्त भए स्वास्थ्य हुनु ठान्छ तर प्राकृतिक चिकित्साले जब शरीर, मन र मस्तिष्क तन्दुरुस्त हुन्छ, तब मात्र मानिस स्वास्थ्य भएको पुष्टि गर्छ ।
आधुनिक चिकित्साले उपचार गर्दा औषधि र चिरफारको विधि अपनाउँछ भने प्राकृतिक चिकित्साको उपचार गर्दा पञ्चतत्वको प्रयोग गर्छ । प्राकृतिक चिकित्सा पद्धतिको कमजोरी भनेको अनुसन्धान कम भएको देखिन्छ । आधुनिक चिकित्सा पद्धतिले प्राकृतिक चिकित्सा पद्धतिलाई वैकल्पिक भन्ने सुन्न पाइन्छ तर प्राकृतिक चिकित्सा वैकल्पिक चिकित्सा पद्धति होइन । प्राकृतिक चिकित्सा पद्धति आधुनिक चिकित्सा पद्धतिको परिपूरक हो ।
आधुनिक चिकित्सा पद्धतिले निर्मूल पार्न नसकेको रोग प्राकृतिक चिकित्सा पद्धतिले निर्मूल पार्न सक्छ । त्यसकारण प्राकृतिक चिकित्सा पद्धति कसैको वैकल्पिक चिकित्सा पद्धति हुन सक्दैन । प्राकृतिक चिकित्सा पद्धति आधुनिक चिकित्सा पद्धतिभन्दा कम खर्चिलो छ तर प्राकृतिक चिकित्सा पद्धतिमा समय ज्यादा खर्चिलो हुन्छ ।
अन्त्यमा
योग तथा प्राकृतिक चिकित्साबाट गरिने उपचारमा बढी समय खर्चिनुपर्छ तर तुलनात्मक रूपमा पैसा भने खर्चिलो छैन । हिमालयन योग तथा प्राकृतिक अस्पताल कम्मर, गर्दन र घुँडो, नसा, बाथ, जोर्नी र हड्डी, प्यारालाइसिस, उच्च रक्तचाप, मधुमेह, थाइराईड, दम, खोकी, पिनास, माइग्रेन, डिप्रेसन, ग्यास्ट्राइटिक्स, पायल्स, कब्जियत जस्ता रोगको उपचारका लागि ब्रान्ड अस्पताल बनेको छ ।
योग तथा प्राकृतिक चिकित्सा विधिले प्रिभेन्टीभ, प्रमोटिभ, क्युरेटिभ र रिह्याविलेटिभ गरी ४ प्रकारका सिद्धान्तमा रही काम गर्छ । अर्थात् पहिले रोग लाग्नै नदिने, रोग लागिहाले पनि त्यसलाई निर्मूल पार्ने, मानिसलाई स्वस्थ बनाउने र पुनःस्थापना गर्ने यस विधिका मुख्य सिद्धान्तहरू छन् ।