दाङ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी पार्टीप्रति जनताको भरोसा बढ्दै गएको दाबी गरेका छन् ।
एकीकृत समाजवादीको ‘मेची–महाकाली जागरण अभियान’ अन्तर्गत बुधबार दाङको घोराहीमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीले अघि सारेका नीति र कार्यक्रमबारे जनताले बुझ्दै गएकाले पार्टीमा जनताको भरोसा बढ्दै गएको दाबी गरे ।
जनताका कुरा सुन्न र उनीहरूको भरोसालाई अझ बलियो बनाउन कोशेढुंगा सावित हुने पनि उनको विश्वास थियो । ‘अभियानले जनताका कुरा सुन्ने र पार्टीलाई जनतासँग जोड्न भूमिका खेल्नेछ,’ उनले भने ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले देशको हालको स्थिति र आगामी दिनमा पार्टीले लिने कार्यदिशाका बारेमा जनतालाई बुझाउँदै समाजवादी पार्टी निर्माणको अभियानमा जोडिन सबैलाई आग्रह समेत गरे । अब नेपालमा समाजवादी कम्युनिष्टभन्दा अरुको विकल्प नभएको भन्दै पार्टीलाई जिल्ला–जिल्ला, नगर–गाउँ–गाउँसम्म पुर्याउने अभियानको लक्ष्य रहेको बताए ।
उनले मेचीदेखि महाकालीसम्मका जनतालाई आफ्नो पार्टीसँग जोड्न मेची–महाकाली समाजवादी जागरण अभियानको थालनी गरिएको बताए । सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनतासँग नजोडिएर देशको विकास गर्न नसकिने बताए ।
कार्यक्रममा नेकपा समाजवादीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशको विकासका लागि कृषि क्षेत्रको विकास हुन आवश्यक रहेको बताए । कृषि क्षेत्रको विकास विना देशको विकास सम्भव नहुने र युवा जनशक्ति विदेशिने क्रम नरोकिने बताए । उनले देशमा कृषि क्रान्ति गर्न र युवालाई देश रोक्ने वातावरण निर्माण गर्न किसानलाई सहकारीका माध्यमबाट संगठित गर्दै कृषिको विकासमा लगाउन आवश्यक रहेको बताए ।
राज्यले किसानलाई मल, बीउ, प्राविधिक जनशक्तिसँगै उत्पादन भएको अन्य तथा तरकारी स्टोरका लागि कोल्ड स्टोर देशका ठाउँ–ठाउँमा निर्माण गरेर सहयोग गर्न आवश्यक रहेको बताए ।