म्याग्दी । दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुन थालेको छ ।
म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँलगायत जिल्लाबाट च्याङ्ग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन् ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका निमित्त प्रमुख ऋषिराम पोखरेलले मङ्गलबारसम्म एक हजार दुई सय भेडा च्याङ्ग्रा निकासी भएको जानकारी दिए ।
‘जोमसोमको नाकाबाट मङ्गलबार मात्रै चार सय वटा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ’, उनले भने, ‘पछिल्लो तीन दिनको अवधिमा एक हजार दुई सय च्याङ्ग्रा निकासी भएको छ ।’
प्रतिगोटा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेबापत पशु चिकित्सकलाई रु १५ शुल्क तिर्नुपर्छ । स्वास्थ्य परीक्षण गरेर निरोगी पशु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ । यस वर्ष दसैँका लागि मुस्ताङका कृषकले पालेका चार हजार र डोल्पाबाट आउने चार हजार गरी आठ हजार भेडाच्याङ्ग्रा निकासी हुने अनुमान गरेको पोखरेलले बताए ।
कृषकले प्रतिगोटा रु ३५ देखि ४० हजारको हाराहारीमा च्याङ्ग्रा बिक्री गरेका उनले बताए । गत वर्ष छ हजार छ सय, २०७८ सालमा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको सङ्ख्यामा मुस्ताङबाट भेडाच्याङग्रा निकासी भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ ।
पछिल्लो चार वर्षयता चिनियाँ च्याङ्ग्रा नआएको र मुस्ताङमा च्याङ्ग्रा कम भएकाले माग धान्न नसकेर मूल्य बढेको कृषक करन गुरुङले बताए । तीनदेखि चार वर्ष उमेरका च्याङ्ग्रा मासुका लागि बजार पठाउने गरिएको छ । हिमाली भेगमा पालन गरिएका भेडा च्याङ्ग्राले लेकाली जडीबुटी खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताको अनुभव छ । दसैँ–तिहारमा च्याङ्ग्राको मासुको खपत बढी हुने गर्छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङ्ग्रा पालिएका छन् । पैसठ्ठीवटा ठूला च्याङ्ग्रा फार्म छन् ।
लोमान्थाङ र लोघेकर दामोदरकुण्डका कृषकले ३० देखि ५० वटासम्म घर–घरमा च्याङ्ग्रा पालेका छन् । हिमचुतुवा, ब्वाँसो र जङ्गलीकुकुरले च्याङ्ग्रालाई आक्रमण गरेर क्षति गर्ने गरेको छ ।
तीन वर्ष अघिसम्म प्रतिगोटा च्याङ्ग्राको रु २५ हजार थियो । कोरोना महामारीका कारण चिनियाँ कोरला नाकाबाट च्याङ्ग्रा आयत नभएकाले मुस्ताङको च्याङ्ग्राको मूल्य बढेको व्यापारी यामबहादुर कार्कीले बताए ।
वैशाख र भदौ महिनामा लाग्ने मेलामा तिब्बतबाट उपल्लो मुस्ताङमा च्याङ्ग्रा आयात हुने गर्दथ्यो । मुस्ताङी च्याङ्ग्राको हुल भित्रिएसँगै दसैँ आगमनको महसुस गराउँछ ।