काठमाडौं । इजरायलमा आतंकवादी समूह हमासको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई ल्याउन नेपाल एयरलाइन्सको विमान आज बुधबार राति ११ बजे त्यसतर्फ जाने भएको छ ।
नेपाली नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउँद आफैं इजरायल जाने उनका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिए । शनिबार हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने केही घाइते भएका थिए ।
परराष्ट्र मन्त्रालयले इजरायलमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको उद्धार र स्वदेश फिर्ताका सम्बन्धमा हालसम्म भएका पहलकदमी तथा प्रगतिबारे जानकारी गराएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले नेपाल फर्कन चाहने नेपालीका लागि नेपाल एयरलाइन्सको २५० सिट क्षमताको वाइडबडी विमान आज राति इजरायलको तेल अविवतर्फ प्रस्थान गर्ने जानकारी दिइन् ।
उनले भनिन्, ‘इजरायलबाट नियमित व्यावसायिक उडान सञ्चालन भइरहेकाले नेपाल फर्किन इच्छुकलाई इजरायलस्थित नेपाली राजदूतावासले सहजीकरण गर्नेछ ।’
नेपाली राजदूतावासले सुरक्षित स्थानमा सर्न तथा नेपाल फर्कन चाहनेको विवरण अनलाइन रजिस्ट्रेसन प्रणालीमार्फत संकलन गरिरहेको छ । हालसम्म ३५० भन्दा बढी नेपालीले विवरण उपलब्ध गराएका छन् । विवरण दिएकामध्ये २८८ जनाभन्दा बढीले नेपाल फर्कन चाहेको बताएका प्रवक्ता लम्सालले जानकारी दिइन् ।
इजरायलमा हाल २६५ नेपाली विद्यार्थी अध्ययनरत छन् । उनीहरू इजरायल सरकारको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत त्यहाँ गएका हुन् । यसमध्ये कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ विद्यार्थी त्यहाँ गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ जना दक्षिण इजरायलको किबुज अलुमिममा अध्ययनरत थिए ।
हमासको आक्रमणबाट १० विद्यार्थीले ज्यान गुमाएका छन् भने ४ जना घाइते भएका छन् । उनीहरूको हाल उपचार भइरहेको छ । घाइतेको उपचारको प्रबन्ध गर्न इजरायल सरकारसँग अनुरोध भएबमोजिम उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
‘अज्ञात अवस्थामा रहेका विपिन जोशीको इजरायल सरकारसँगको समन्वयमा उच्च प्राथमिकताका साथ खोजी भइरहेको छ,’ प्रवक्ता लम्सालले भनिन् । इजरायलमा करीब ४ हजार ५०० नेपाली विभिन्न पेशा र क्षेत्रमा कार्यरत रहेको तथ्यांक छ ।