काठमाडौं । संयुक्त अधिराज्य बेलायतको भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा र बेलायतका सेनाध्यक्ष जनरल सर पट्रिक सन्डर्सबीच लण्डनस्थित सैनिक मुख्यालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा बेलायती सेनाध्यक्षले नेपाली सेनाको पेशागत क्षमता अभिवृद्धिमा बेलायती सेनाको सहयोग निरन्तर रहने बताएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
द्विपक्षीय सैनिक सम्बन्ध, आपसी सहयोग तथा चासोबारे छलफल भएको भेटमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकाल, बेलायतका लागि सैनिक सहचारी सहायक रथी रत्नबहादुर गोदार र नेपालका लागि बेलायती सैनिक सहचारी कर्णेल पौल स्मिथको उपस्थिति रहेको थियो ।
प्रधानसेनापति शर्माले बेलायतको रोयल कलेज अफ डिफेन्स स्टडिजको भ्रमण गरेका थिए । भ्रमणको दौरान उनलाई कलेजमा उच्च पदाधिकारीले स्वागत गर्नुका साथै कलेजमा सञ्चालन हुने तालिम गतिविधिबारे जानकारी गराइएको थियो ।
सोही अवसरमा प्रधान सेनापति लण्डनस्थित नेपाली राजदूतावासमा उनको सम्मानमा आयोजित रात्रिभोजमा सरिक भए । नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले प्रधानसेनापति तथा भ्रमण दलका सदस्यलाई स्वागत गर्दै बेलायत र नेपालबीचको द्विपक्षीय राजनीतिक, आर्थिक, सामाजिक, सैनिक सम्बन्धको विकास र विस्तारमा नेपाली सेनाको भूमिका महत्त्वपूर्ण रहेको बताएका थिए ।
प्रधानसेनापति शर्मा असोज २१ गतेदेखि बेलायतको भ्रमणमा छन् ।