काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू शैक्षिक सत्रमा ११ कक्षामा छात्रवृत्ति कोटाबाट भर्ना भएका विद्यार्थीसँग विद्यालयले शुल्क मागेको गुनासो आएपछि अनुगमन सुरू गरेको छ ।
छात्रवृत्ति कोटामा सिफारिस भएका विद्यार्थीसँग शुल्क उठाउने विद्यालयहरूलाई कारबाही गर्ने महानगरले चेतावनी समेत दिएको छ ।
गुनासो आएपछि महानगरले गत सोमबारदेखि छानबिन सुरु गरेको महानगरको शिक्षा विभागले जानकारी दिएको छ । महानगरका शिक्षा अधिकृत नेत्रनारायण पौडेलका अनुसार विभिन्न माध्यमबाट १० वटा विद्यालयले शुल्क लिएको भन्ने उजुरी परेको छ ।
गत सोमबार, मंगलबार र बुधबार ३ दिनमा टोलीले गोल्डेन गेट, सिफल सेकेन्डरी स्कूल, काठमाडौं मोडेल कलेज, एभरेष्ट फ्लोरिडा, सीसीआरसी गरी ६ वटा विद्यालयको अनुगमन गरेको पौडेलले जानकारी दिए ।
अनुगमनका क्रममा एभरेष्ट फ्लोरिडाबाहेक अरु विद्यालयले कुनै न कुनै रूपमा शुल्क माग गरेको फेला परेको उनको भनाइ छ । सिफल स्कूलले पुस्तकालय, प्रयोगशाला, अतिरिक्त कक्षा, अतिरिक्त क्रियाकलाप, दर्ताजस्ता शीर्षकमा विद्यार्थीसँग मासिक ९ हजार ५०० रुपैयाँसम्म मागेको महानगरको भनाइ छ ।
छात्रवृत्ति र शुल्कसँग सम्बन्धी गुनासो गर्नुपरे छानबिन तथा अनुगमन टोलीका अधिकारीहरूसँग (नेत्रनारायण पौडेल, फोन नम्बर ९८५११९९९४५, सस्मित पोखरेल, फोन नम्बर ९८४००७१५५५ र शैलेन्द्र झा फोन नम्बर ९८५११४६८९६) लाई फोन गर्न सकिने महानगरको भनाइ छ ।
काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को परिच्छेद १० मा कूल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशत नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरीब, अपाङ्गता, महिला, दलित, जनजाति, द्वन्द्व पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।
यही व्यवस्थाअनुसार महानगरपालिकाले ११ कक्षामा भर्ना भएर छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीबीच परीक्षा लिएर ‘म्याचिङ लिष्ट’बाट नाम सिफारिस गरेको हो । यसरी सिफारिस गरिएका विद्यार्थीले ११ र १२ कक्षामा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नु पर्दैन ।
गत साउन २० गते लिइएको प्रवेश परीक्षामा आवेदकमध्ये ३ हजार ४०० छात्र, १ हजार ७७२ जना छात्रा गरी ५ हजार १७२ विद्यार्थी सहभागी थिए । महानगरले साउन २९ गते २ हजार ३२२ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि ‘म्याचिङ लिष्ट’ भर्नाको पहिलो सूचीमा सार्वजनिक भएको थियो ।