विराटनगर । कोशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्तिको निर्णय भोलि शुक्रबार गर्ने भएका छन् ।
भोलि शुक्रबारसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय भए पनि २ पक्षले आज बिहीबारै दाबी पेश गरेका छन् ।
संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न दिएको समयसीमा भोलि शुक्रबार अपराह्न ५ बजेसम्म छ ।
नेकपा माओवादी केन्द्र प्रदेशसभा संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेस प्रदेशसभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । केन्द्रीय सत्ता गठबन्धनको बैठकले माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।
गठबन्धनको निर्णयविपरीत कांग्रेसभित्र डा. शेखर कोइराला पक्षधर सांसदहरू र नेकपा एमालेका सांसदहरूको समर्थनमा कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले २ जनाको दाबी पेश भएका कारण मुख्यमन्त्री नियुक्तिको निर्णय भोलि हुने बताए । ‘२ जनाले दाबी पेश गरेका कारण भोलि निर्णय लिने कुरा प्रदेश प्रमुखज्यूले गर्नुभएको छ,’ उनले भने, ‘भोलि ५ बजेसम्मको समय भएकाले निर्णय गर्ने म्याद सकिँदैन ।’
कोशीको ९३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीका लागि दाबी गर्न ४७ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । कार्कीको समर्थनमा एमालेका ३९ र कांग्रेसका ९ जना गरेर ४८ जना प्रदेशसभा सदस्य देखिएका छन् ।
आङ्बाले पनि गठबन्धनका ४७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । उनले कांग्रेसका २९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा) नेपालका १ जना प्रदेशसभा सदस्यको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका छन् तर कांग्रेसको संस्थापनइतरका प्रदेशसभा सदस्यले सशरीर प्रदेश प्रमुखसमक्ष उपस्थित भएर हस्ताक्षर कार्कीको पक्षमा सनाखत गराएका छन् ।
आङ्बोले आफूहरूको पुरानो हस्ताक्षर दुरुपयोग गरेको कार्की पक्षका सांसदको आरोप छ । कार्की पक्षका सांसदको हस्ताक्षर गणना नगर्दा आङ्बोको पक्षमा बहुमत पुग्दैन ।