काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाडपर्वमा कोही व्यक्ति सडकमा बस्नु नपरोस् भनेर मानव सेवा आश्रमले आज शनिबारदेखि सुरु गरेको मेची–महाकाली उद्धार अभियानले आफूलाई निकै सन्तोष मिलेको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रबार साँझ मेची–महाकाली उद्धार अभियानमा सरिक आश्रमका अभियन्तालाई बिदाइ गर्दै प्रधानमन्त्री प्रचण्डले अभियानले आफूलाई हर्षित तुल्याएको र चाडपर्वका बेलामा अब असहायलाई सडकबाट उद्धार गरी आश्रय दिनु महत्त्वपूर्ण विषय भएको बताए ।
राजनीतिक दबाब र तनावपूर्ण चुनौती मात्रै नभई समाजसेवा झन् बढी महत्त्वपूर्ण रहेको अनुभूति गर्ने अवसर कार्यक्रमले आफूलाई दिएको उल्लेख गर्दै उनले आश्रमको महत्त्व थाहा पाएसँगै सरकारका तर्फबाट सहयोग गर्ने बताए ।
उनले भने, ‘आउँदो दिनमा राज्यको तर्फबाट पनि अझै धेरै जिम्मेवारी लिनुपर्छ भन्ने मैले ठानेको छु, नेपालमा मानवसेवा र सामाजिक सेवाका निम्ति संकल्पका साथ लाग्ने व्यक्तिको कमी छैन भन्ने कुरा आश्रमले स्थापित गरेको छ, बधाई दिन चाहन्छु ।’
उनले मेची–महाकाली यात्रा पूर्ण सफलताको शुभकामना पनि दिए ।
सो अवसरमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अत्यन्तै कठिन अवस्थामा रहेका दाजुभाई दिदीबहीनी आमाबुबा र बालबालिकालाई आश्रमले संरक्षण गरिरहेकोमा प्रशंसा गरे ।
मुलुकभित्र जति पनि सकारात्मक काम भइरहेका छन् ती सबैलाई जोडेर सामाजिक, आर्थिक रूपान्तरणसहित उन्नतशील राष्ट्र बनाउने अभियानमा सरकारले जोड दिइरहेको उनको भनाइ थियो । अभियान सफल बनाउनका लागि सरकार आवश्यक सहयोग रहने प्रतिबद्धता पनि जनाए ।