कास्की । होटल संघ पोखराले कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई टिकाउन सहजीकरणको माग गर्दै नेपाल राष्ट्र बैंकलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
संघले आज शुक्रबार नेपाल राष्ट्र बैंकको निर्देशिकामा व्यवस्था भएअनुसार पर्यटन क्षेत्रमा लगानी गरिएको कर्जाको पुनःतालिकीकरण, पुनःसंरचना र पुनःलगानीको व्यवस्था प्राथमिकताका साथ हुनुपर्ने भन्दै गर्भनर महाप्रसाद अधिकारीको ध्यानाकर्षण गराएको हो ।
संघको एक टोली नेपाल राष्ट्र बैंकको पोखरा कार्यालय पुगेर कार्यालयका निर्देशक आर्या जोशीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड १९, रुस–युक्रेन युद्ध, पोखरा आउने अस्तव्यस्त राजमार्ग र यति एयरको जहाज दुर्घटनाको असरले पोखराको पर्यटन थला परेको बताए ।
विभिन्न कारणले पोखरामा पर्यटक आगमन घटेको भन्दै अध्यक्ष सुवेदीले बैंक तथा वित्तीय संस्थालाई बुझाउनुपर्ने कर्जाको साँवा तथा ब्याज तत्कालका लागि बुझाउन असमर्थ रहेको अवगत गराएका छन् ।
लामो अवधिको लागि किस्ताबन्दीमा तिर्ने, बुझाउने व्यवस्था हुनुपर्ने माग राख्दै संघ बैंैंक तथा वित्तीय संस्थाले कुनै प्रकारको जरिवाना शुल्क लिन नपाउने तथा व्यवसायीलाई कर्जा भुक्तानी गर्न बाध्यकारी बनाउन नपाउने तथा व्यवसायीको धितो लिलामी गर्ने जस्ता कार्य हाललाई बाध्यकारी नगर्न संघले ध्यानाकर्षण गराएको छ ।
‘पर्यटन व्यवसायमा वाणिज्य बैंकहरूले गर्ने लगानी अनिवार्य ढंगले टोकनका रूपमा गर्ने व्यवस्था गर्दै आर्थिक संकटको समयमा गरिएको लगानीको जोखिमलाई कम गर्न उच्च ब्याजदरमा रहेको ऋणलाई न्यूनतम ब्याजदर कायम गर्न बैंकहरुलाई परिपत्र गरियोस्,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
पर्यटन क्षेत्रमा भएको लगानीको ब्याजदर एकल अंकमा हुने व्यवस्था गरिनुपर्ने, ब्याजमा आधार दर मात्र कायम गरिनुपर्ने, कोभिड र त्यसपछिको बिग्रदो आर्थिक अवस्थालाई मध्यनजर गरी पर्यटन क्षेत्रको अडिट प्रतिवेदनमा वासलातमा कूल सञ्चालन मुनाफा लगातार ऋणात्मक भई बैंकले ऋण प्रवाहमा अवरोध गर्ने गरेको व्यवस्थालाई हटाइनुपर्ने र विद्युत् उत्पादनको लगानीमा रहेको व्यवस्था पर्यटन क्षेत्रमा लागू गरिनुपर्ने संघको माग छ ।
हाल आय–आम्दानी नभएको कारणले नगद प्रवाहमा देखिएको समस्यालाई सम्बोधन गर्न बैंकहरूले सम्पत्तिको वास्तविक मूल्यांकन गरी ८० प्रतिशत ऋण प्रवाह गरिनुपर्ने, हाल आर्थिक संकटबाट सबैभन्दा धेरै पर्यटन व्यवसाय आक्रान्त भएको हुँदा विशेष व्यवस्था गरी थप सहुलियत ऋण प्रदान गरिनुपर्ने माग पनि संघको रहेको छ । वातावरणीय अध्ययनको ढिलाइका कारणले नवीकरण हुन नसकेका होटल उद्योगलाई सहज रूपमा नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्रा कारोबार अनुमतिपत्र नवीकरण गरिनुपर्ने माग पनि संघको छ ।