मोरङ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा मध्यावधि निर्वाचन रोक्न वर्तमान सरकार गठन भएको बताएका छन् ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङबाट आज शनिबार मुख्यमन्त्रीको नियुक्तिपत्र प्राप्त गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेकपा एमालेसहित प्रदेशसभा सदस्यहरूको सामूहिक प्रयास र जनतामा विकास र समृद्धिको आशा जगाउने उद्देश्यले सरकार निर्माण गरिएको बताए ।
मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार निर्माण भएको सरकारलाई नेपाली कांग्रेसले सकारात्मक रूपमा लिने विश्वास व्यक्त गरे । उनले संविधान, ऐनअनुसार मुख्यमन्त्रीलाई प्राप्त अधिकारअनुसार जनताको हितका लागि काम गर्ने बताए ।
मुख्यमन्त्री कार्कीले शपथग्रहणपछि मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिए ।
यसैबीच, नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा दिएका छन् । नेता थापाले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश सरकार निर्माणमा विकसित भएको घटनाक्रमका कारण नैतिक रूपमा दलका नेताका रूपमा बस्न उपयुक्त नभएकाले पदबाट राजीनामा दिएको जानकारी दिए ।
नेता थापाले प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई शुभकामना दिँदै आगामी दिनमा पार्टीको निरन्तर साथ रहने बताए । प्रदेशमा विकसित राजनीतिक घटनाक्रमले गठबन्धनलाई कुनै असर नपुग्ने र प्रदेशमा गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने उनको भनाइ थियो ।
यसअघि आज शनिबारै बसेको प्रदेश कांग्रेसको संसदीय दलको बैठक बसेको थियो । बैठकमा २९ जना प्रदेशसभा सदस्यमध्ये १९ जना उपस्थित थिए ।