काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सबैले देश केही बनेको छ भन्ने भावना र सोच राख्न आवश्यक रहेको बताएका छन् ।
बडादशैं, दीपावली र छठपर्वको उपलक्ष्यमा नेकपा एमाले झापा–काठमाडौं सम्पर्क मञ्चद्वारा आज शनिबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदानका अवसरमा उनले भने, ‘विकासका हिसाबले देश धेरै बनाउन बाँकी छ, देश लोकतान्त्रिक गणतन्त्रको बाटोबाटै बनाउने हो । आलोचना गर्दै साथ लिँदै हिँड्ने हो, यो देश बन्छ, बनाउन सकिन्छ । देश केही बनेको छैन भन्ने होइन, देश केही बनेको छ भन्ने भावना र सोच राख्न आवश्यक छ ।’
उनले नेपाल सतिको श्राप परेको नभई भगवान् गौतमबुद्धको आशिर्वाद परेको देश भएकाले विकास पथमा लैजान सकिने थ्रुप्रै सम्भावना रहेको बताए । विगतमा देशमा भएका राम्रा र नराम्रा दुवै पक्षको साझा जिम्मेवारी नेपाली कांग्रेस र नेकपा एमाले लगायतले लिनुपर्नेमा जोड दिँदै उनले पुरानाको दिन गए भन्दै गर्दा धर्मशास्त्र र धर्ती पुरानै हुन् भन्ने पक्षलाई ख्याल गरी आफ्नो उपस्थितिमा नयाँ ऊर्जा र नयाँ संस्कृति देखाउन सक्नुपर्ने भनाइ व्यक्त गरे ।
मुलुकको राजनीति बदल्ने अठोट र संकल्प गरेमा सबैभन्दा ठूलो योगदान झापालीले गर्न सक्ने बताउँदै उनले खेलकुददेखि जेलसम्ममा झापालीको बलियो उपस्थिति रहेकाले चतुर्याइँ मात्रै होइन, वैचारिक, संयमता र परिपक्वता प्रस्तुत गर्न सक्नुपर्नेमा जोड दिए ।
नेपाली नागरिक महत्त्वपूर्ण पर्व दशैं पर्खिरहेका बेला विदेशी भूमिमा ज्यान गुमाएका आफन्तको लास कुरिरहेको अवस्था रहेको घटना सुनाउँदै महामन्त्री शर्माले भने, ‘नेपाली कुनै पनि द्वन्द्वमा नपरुन्, धरानको जस्तो परिघटना नभइदिओस्, मलङ्गवा नदोहोरियोस्, नेपालगञ्जले सद्भावको शहरको पहिचान कायम राखोस् ।’